संघीय संसदले पायो पूर्णता
काठमाडौं । नयाँ संविधानमा संसद् दुई सदनात्मक हुने व्यवस्था छ। माथिल्लो सदन राष्ट्रियसभाले कानुन निर्माण र प्रतिनिधिसभालाई अनुगमनको कार्य गर्ने परिकल्पना गरिएको छ। संसदको तल्लो सदन प्रतिनिधिसभाले पनि कानुन निर्माण गर्नुका साथै व्यवस्थापिकाको सम्पूर्ण कार्य गर्नेछ। कार्यपालिकाले दिएका जिम्मेवारीहरुलाई समेत यसले कानुनको रुपमा मस्यौदा गर्दै प्रारम्भिक कानुन बनाउनेछ।
संविधानले राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षको परिकल्पना गरेको छ भने प्रतिनिधिसभामा सभामुख र उपसभामुखको व्यवस्था गरिएको छ। प्रतिनिधिसभाको प्रमुखको रुपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचत भई जिम्मेवारी सम्हालिसकेका छन्। महरा निर्विरोध चयन हुँदै फागुन २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका थिए। यस्तै, उपसभामुखमा एमालेकी नेता शिवमाया तुम्बाहाम्फे चैत २ गते निर्वाचित भइन्।
उता, राष्ट्रियसभाको अध्यक्षमा एमाले नेता गणेश तिमल्सिना फागुन ३० मा चयन भएका थिए। राष्ट्रियसभाको उपाध्यक्ष पदमा आइतबार माओवादीकी नेतृ शशिकला दहाल निर्वाचित भएसँगै संघीय संसदले सम्पूर्ण पदाधिकारी पाएको छ। आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार वृन्दादेवी आले (राना)लाई पराजित गर्दै दहाल संघीय संसदको अन्तिम पदाधिकारी चयन भएकी हुन्।
संविधानको व्यवस्था अनुसार संघीय संसद् कुल ३ सय ३४ सदस्यीय हुनेछ। प्रतिनिधिसभा २ सय ७५ र राष्ट्रियसभा ५९ हुने संविधानमा उल्लेख छ।