मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन: आफ्नो सम्पूर्ण ध्यान प्रयोग गरेर काम गर्नुहाेस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण ध्यान प्रयोग गरेर काम गर्न निर्देशन गरेका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदका सदस्य, मुख्यसचिवलयायत सरकारका उच्च अधिकारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार समान्य नभएको बताउँदै आफ्नो सम्पूर्ण ध्यान प्रयोग गरेर काममा लाग्न निर्देशन गरेका हुन् ।
प्रधानमन्त्रीको ब्रिफिङपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, "यो सरकार सामान्य होइन असामान्य हो । असमान्य जिम्मेवारी बोकेको कुरालाई हेक्का राखेर एतिहासिक अभिभारा पूरा गर्न यो टीम भाग्यशाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेका राष्ट्रिय अविभाराहरुलाई सम्पूर्ण ऊर्जासहित समयको एक/एक पल, स्रोतको एक/एक थोपा र आफ्नो ऊर्जाको एक/एक बुँदा लगाएर पूरा गर्नको निम्ती विशेष निर्देशन गर्नुभएको छ ।"
प्रधानमन्त्री ओलीले वर्तमान सन २०३० सम्म दिगो विकासको लक्ष हासिल गर्न र संविधानले उल्लेख गरेका मौलिक हकलागयतको समग्र पक्षको कार्यान्वयन गर्न केन्द्रीत रहन सबैलाई आग्रह पनि गरेका थिए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई भ्रष्टाचार, कर्तव्यबाट च्युत हुने, अनियमिता या जनताको सेवा गर्ने कुराबाट विभिन्न बहानाबाजीबाट विमुख हुने कुराहरु कदापी पनि स्वीकार्य नहुने जानकारीसमेत मन्त्रीहरुलाई गराएका थिए ।
ओलीले मुलुकको शान्ति सुरक्षाको लागि सदैव कर्तव्यनिष्ट भएर काम गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका थिए ।