केपीले चाहेको समृद्धिको राजमार्गमा चौधरी र सिलवाल पो सुतिरहेका छन्
गृहमन्त्रीले अभियुक्तलाई हिरासतमै गएर जुस पिलाएपछि...
- लोकेन्द्र भट्ट/
काठमाडौं । कैलालीको टीकापुरमा २०७३ भदौमा सात जना प्रहरी र एक शिशुको हत्याकाण्डको अभियोगमा थुनामा रहेका अभियुक्त रेशम चौधरीको विषय पेचिलो बन्दैगएको छ ।
उनलाई थुनामुक्त गर्ने कुरालाई लिएर राजनीतिक दलहरुबीच बार्गेनिङ सुरु भएको छ । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सांसद समेत हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले थुनामै आमरण अनशनरत चौधरीलाई जुस पिलाएपछि गृहमन्त्री नै बिबादमा तानिएका छन् । गृहमन्त्रीको यस्तो कदमले पीडितका मनमा थप पीडा थपिएको छ ।
सुरक्षाकर्मी र शिशु हत्याको सरकारवादी मुद्दाका अभियुक्तलाई गृहमन्त्रीले नै फलफूलको रसपान गराउँदा कस्तो नजिर बस्छ भन्नेमा अहिले सरकारका गृहमन्त्रीलाई हेक्का नै भएन ।
प्रहरी हत्याको आरोपमा थुनामा रहेका व्यक्तिलाई गृहमन्त्री आफैंले जुस ख्वाउने भएपछि संगठनभित्र कस्तो मानसिकता बन्ला ? जेसुकै कुरालाई राजनीतिको जामा लगाउँदै आएका राजनीतिक दलहरुले सरकारको गृहमन्त्री हुँदा पनि बादलमा घाम लाग्न सकेन । माओवादी केन्द्रले यसलाई रोमाञ्चकता दिनु अनौठो भएन ।
तर यो विषयलाई सत्ता साझेदार हुनुको नाता र भोलीको एउटै दल बन्ने प्रतिक्षाका कारण त्यसलाई एमाले समर्थनले जनमानसमा नकारात्मक भाव अवश्य पैदा होला भन्ने हेक्का नै राखेन ।
यसको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अभियुक्त चौधरीलाई त थुनामै सपथ गराउने आश्वसन पो दिएछन् ! सुविधाजनक बहुमत रहँदा रहँदै पनि प्रधानमन्त्री आलीले किन राजपाको साथ खोजीरहेका छन् ? बुझ्न गाह्रो छैन ।
तर प्रधानमन्त्री ओलीले कुनै बहानामा पनि अनियमितता अस्वीकार्य रहेको भनिरहँदा रेशमको विषयमा भने फरक धारमा देखिए । यस्ता विषयले सरकारको छवि धुमिल हुनेमा कुनै आशंका छैन तर पनि ओली खुलेरै लागि परेका छन् ।
दल विशेषको निकट रहेका व्यक्तिमाथि कानुनी कारवाही भइरहेका बेला त्यसलाई अल्मल्याउने गरी गतिविधि भइरहेको देखिन्छ । यसो गर्नु भनेको कानुनी कारवाहीलाई अवरुद्ध गर्नु पनि हो । यसमा सरकार पक्ष सजक रहुन पर्ने देखिन्छ ।
साथै भ्रष्टाचार विरोधी नीति लिएर समृद्धि र विकासको राजमार्गमा दौडने सपना बोकेका प्रधानमन्त्री ओलीलाई चौधरी, नवराज सिलवाल र दीपक मनाङेहरुले बाटो छेक्ने संकेत अहिले नै देखिएको छ । जुन सकारात्मक हैन ।