राजनीति

प्रतिनिधिसभा तथा राष्ट्रियसभाकाे अधिवेशन सञ्चालनका लागि कर्मचारी तोकिए

प्रतिनिधिसभा तथा राष्ट्रियसभाकाे अधिवेशन सञ्चालनका लागि कर्मचारी तोकिए

काठमाडौँ । संघीय संसद् सचिवालयले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाकाे अधिवेशनका लागि कर्मचारी विभाजन गरेको छ ।

 

यसअघि एउटामात्र सदन भएको अवस्थामा कायम रहेका जनशक्तिलाई नै प्रतिनिधि तथा राष्ट्रियसभा सचिवालयमा काम गर्नेगरी कार्यक्षेत्र तोकिएको हो।

 

सचिवालयले कार्यव्यवस्था परामर्श महाशाखामा रहने दुई सहसचिव तोकेको छ । कार्यव्यवस्थाले नै औपचारिक रुपमा बैठक एजेण्डा तय गर्ने प्रचलन छ । महाशाखा अन्तर्गतको सचिवालयले बैठकका एजेण्डा तथा बैठक सञ्चालनको कार्यविधि तय गर्नेछ ।

 

सचिवालयले प्रतिनिधिसभातर्फ महाशाखाको जिम्मेवारी सहसचिव डा. भरतराज गौतमलाई दिएको छ । यस्तै, राष्ट्रियसभातर्फ महाशाखाको जिम्मेवारी सहसचिव मुरारी महतलाई दिएको छ ।

 

गौतम र महत नेतृत्वको कार्यव्यवस्थाले नै बैठक सञ्चालनका एजेण्डादेखि कार्यविधि समेत तय गर्नेछ । संसद्को विजनेश औपचारिक रुपमा भने सरकारसँगको परामर्शमा कार्यव्यवस्था परामर्श समितिले तय गर्नेछ ।

 

सचिवालयले २१ गतेदेखि आह्वान हुने पहिलो अधिवेशनको सम्पूर्ण तयारी समेत पूरा भइसकेको जनाएको छ । यस्तै पहिलो बैठकका एजेण्डाबारे पनि दलहरुसँग बुधबार परामर्श गरिसकेको छ ।

 

फागुन २० गते पुनः बैठक बसी एजेण्डाबारे निर्णय हुनेछ।पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित हुनेछ । यस्तै, प्रतिनिधिसभाका सभामुख तथा उपभासमुख र राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्षको निर्वाचनको मिति पनि पहिलो बैठकले तय गर्नेछ ।

 

पदाधिकारी चयनको मितिबारे फागुन २० गते बस्ने संघीय संसद् सचिवालय र दलका प्रतिनिधिको बैठकले निर्णय गर्नेछ । पहिलो बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गर्नेछ ।

विशेष