प्रधानमन्त्रीले किन काठमाडौं बोलाए सातै प्रदेशका मुख्यमन्त्रीलाई ?
काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा अाेलीले सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका छन् ।
प्रधानमन्त्री अाेलीले प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्नेका लागि बुधवार सामुहिक रुपमा छलफल गर्न लागेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला बुधवारको बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
प्रधानमन्त्रीले प्रदेश सरकार सन्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन् । काम गर्ने मेसो नपाएर मन्त्रिहरू यतिबेला काठमाडाैंमा रूमल्लिरहेका छन् ।
साेमबार मात्र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रदेश सरकारका पदाधिकारीले आसन पाए तर शासन गर्न नपाएकाे भन्दै गुनासाे गरेका थिए । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय प्रदेशका मन्त्रीलाई दिने गाडीसमेत छैनन् ।
प्रदेशसभा र प्रदेश सरकार सन्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ ।