गृहमन्त्री बादललार्इ पीडितको कठोर प्रश्नः भाला हानेर प्रहरी मार्नेलार्इ जुस पिलाउने कस्तो नियत ?
टीकापुरका पीडितले गुनासो गरिरहँदा प्रधानमन्त्री र गृहमन्त्री किन जोगाउँदै छन् चौधरीलार्इ ?
काठमाडाैँ । कैलालीको टीकापुर हत्याकाण्डको अभियुक्त रेशम चौधरीलाई गृहमन्त्री रामबहादुर थापा बादलले थुनामै पुगेर जुस पिलाएपछि घटनाका पीडितहरु थप पीडा महसुश गर्न थालेका छन् ।
न्यायको पर्खाइमा रहेका पीडितहरु राज्यले आफ्नो घाउमा नुनचुक छर्केको महसुश गर्न थालेका हुन् । नयाँ सरकारले पीडितलाई न्याय दिलाउला भन्ने आशमा रहेका उनीहरु गृहमन्त्रीको यस्तो कदमले झनै दुखी बनेका छन् ।
अभियुक्त चौधरीलाई सरकारले योजनावद्ध रुपमै बचाउन खोजेपछि टीकापुर घटनाबारे पनि विभिन्न टिप्पणी आउन थालेको छ । खासगरी पीडितहरुले मिडियासमक्ष हारगुहार गर्दैछन् । पीडितहरू खासगरी गृहमन्त्री र प्रधानमन्त्रीका गतिविधिप्रति रूष्ट भएका छन् । उनीहरूले मिडिया तथा सामाजिक संजालमार्फत यस्ता प्रश्न सोधिरहेका छन् ।
टीकापुर हत्याकाण्डमा मारिएका नेपाल प्रहरीका निरीक्षक केशव बोहराकी पत्नि शारदा बोहराले घटना भएलगत्तै नेपालआजसमक्ष आफ्नो पीडा यसरी पोखेकी थिइन् ः
मधेसी–थारुको आन्दोलन शान्तिपूर्ण भनिएको थियो । सबै नेताले बारम्बार शान्तिपूर्ण भनेका थिए । शान्तिपूर्ण भनिएको आन्दोलनमा सुरक्षाकर्मीलाई लखेटी–लखेटी, भाला, बञ्चरो, खुकुरीले क्षतविक्षत बनाएर हत्या गर्नु राजनीतिक कार्य कदापी हुन सक्दैन ।
यस्तो बर्बरतापूर्वक हत्या गर्नेलाई राजनीतिको नाममा छुट दिने हो भने हत्या अभियोगमा जेल बसेकालाई पनि जेलमुक्त गर्नुपर्छ । मान्छे मार्दा पनि यो देशमा कानुन लाग्दैन भने बाँकी अपराधमा हुने सजाय पनि छुट दिनु पर्छ । राजनीतिको नाममा जघन्य अपराध गर्नेहरुलाई छुट दिन कसरी मिल्छ ? यो कहाँको न्याय हो ?
तराईमा आन्दोलन गर्ने कुनै नेताको कोही आफन्त मारिएका छैनन् । उनीहरु कसैले केही गुमाएका पनि छैनन् । गुमाएका हामीले छौं । हाम्रो त परिवार नै उजाड भएको छ । तर पनि हामीले सरकारसँग केही मागेका छैनौं । हामीले मागेको भनेको न्याय हो ।
जुन नमागि नै सरकारले दिनु पर्ने थियो । तर सरकार त उल्टै अपराधिलाई जोगाउन लागि परेको छ । टीकापुर घटनाका मुख्य अभियुक्तलाई प्रधानमन्त्रीले भेटेका छन् । गृहमन्त्री हत्यारालाई छुट दिनुपर्छ भन्दै हिँडेका छन् ।
त्यो घटनामा न प्रधानमन्त्री, न गृहमन्त्री न मधेसका नेताहरु कसैको कोही परेको छैन । उनीहरुलाई हाम्रो पीडा थाहा पनि छैन । महशुस गर्ने मन पनि छैन । उनीहरु त राजनीतिलाई बद्नाम गरिरहेका छन् । राजनीतिका नाममा अपराधीलाई उन्मुक्ति दिने प्रयास गरिरहेका छन् ।
मैले टीकापुर घटनामा संलग्न भएका मुख्य दोषी रेशमकुमार चौधरी हो । संलग्न भएका अन्यमा लाहुराम चौधरी, लक्ष्मण थारु लगायत छन् । सडक विभागको इञ्जिनियर भएर पनि धनीराम चौधरी खुलेआम हिँडिरहेको छ । धनिराम घटनाको मुख्य योजनाकार हो ।
घटनामा अन्य पनि संलग्न छन् । यीनीहरुलाई हदैसम्मको सजाय हुनुपर्छ भनेर मैले किटानी जाहेरी दिएकी छु । तर सरकारले आठ जना सुरक्षाकर्मीको हत्या गर्नेविरुद्धको मुद्धा फिर्ता लिने कुरा भइरहेको छ ।
जाहेरी दिने, अन्यायमा पर्ने हामी हौं । तर सरकारले आफूखुसीले एकलौटी ढंगबाट मुद्धा फिर्ता कसरी गर्दोरहेछ हामी पनि हेरिरहेका छौं । घटना भएपछि टीकापुर नै पुगेर छानविन भएको छ । त्यो छानविन आयोगको प्रतिवेदन अहिलेसम्म लुकाइएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न पनि हामीले माग गरेका छौं । आन्दोलनमा हुलदंगा भयो भने, मान्छेले ढुंगा हानाहान गर्दा, भागदौडमा कुल्चिएर, एकातिर हान्दा अर्कोतिर लाग्दा वा अञ्जानवस भएको घटनालाई राजनीतिक रङ दिन पनि सकिएला । तर जानाजान बबरतापूर्ण ढंगबाट हत्या गर्नेहरुलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।
गृहमन्त्रीले अभियुक्तलाई हिरासतमै गएर जुस पिलाएपछि...