कारागार यातनागृहको रुपमा नभई सुधारगृहको रुपमा विकास हुन्छ : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कारागारलाई यातनागृहको रुपमा नभई सुधारगृहको रुपमा विकास गर्न आवश्यक रहेको औल्याएका छन् । राजधानीको सुन्धारास्थित सेन्ट्रल जेल र डिल्लीबजार कारागारको अवलोकन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री थापाले यसका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आफुले ठोस कदम चाल्ने बताए ।
कैदीको क्षमता भन्दा बढी कैदीवन्दी कारागारमा राखिएको, कारागार जिर्ण अवस्थामा रहेको भन्दै मन्त्री थापाले नुवाकोटमा बन्ने नयाँ कारागारका लागि तत्काल काम अघि बढाउन मन्त्रालयले पहल गर्ने बताए ।
कैदीबन्दीहरुले आफुहरुले पाउँदै आएको दैनिक सिदा बापतको रकम बढाउनुपर्ने, वासस्थानको राम्रो व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए । अहिले कैदी बन्दीले सिदा बाफत दैनिक ४५ रुपैयाँ भक्ता पाउँदै आएका छन् । मुलुकभर हाल २० हजार १ सय ५५ कैदीबन्दी छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार ७२ जिल्लाका ७४ कारागारमा १७ हजार ७ सय ६८ पुरुष, १ हजार ३ सय १८ महिला र १ हजार ६९ विदेशी कैदी बन्दी छन् । यस्तै आश्रित कैदी ८२ जना छन् ।
कारागारमा लागुऔषध कारोबारी कैदीको संख्या ४ हजार रहेको विभागका महानिर्देशक कृष्णप्रसाद आर्चायले बताए । यस्तै करणी, कर्तव्य ज्यान, अपहरण, ठगी मुद्दामा करीव ८ हजार जनाले कारागार जीवन बिताइरहेका छन् । यस्तै काभ्रे कारागारमा २० र लमजुङ कारागारमा २ जना मानसिक स्वास्थ्य समस्या भएका कैदीबन्दी छन् ।