अनेरास्ववियु अध्यक्षकाे नेतृत्वमा अाकांक्षी धेरै, यी हुन् प्रमुख दाबेदार
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुलाई पार्टीले पुनर्गठन गर्ने भएको छ। संगठनकी अध्यक्ष नवीना लामा सांसद भएपछि अनेरास्ववियुमा नयाँ नेतृत्व चयनको तयारी सुरु भएको हो।
सांसद भएपछि नवीनाले अनेरास्ववियुबाट राजीनामा दिने बताएकी थिइन्। उनले अध्यक्ष पद छाड्ने भएपछि नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुलाई पुनर्गठन गर्न लागिएको हो।
नयाँ नेतृत्व चयनकै लागि बुधबार संगठनको पदाधिकारीक बैठक बोलाइएको छ। अनेरास्ववियुका उपाध्यक्ष तथा महासचिवले अध्यक्षको दाबी गरिरहेका छन्। उपाध्यक्षहरु सुनिता बराल, महेश बर्ताैला, शैलेश लामा र रश्मी आचार्य तथा महासचिव ऐन महरले अध्यक्षका लागि लबिङ सुरु गरेका छन्। केही सचिवहरुले पनि नेतृत्वमा दाबी गरेका छन्।
नयाँ नेतृत्व चयनसँगै संगठनका अन्य पदहरुको समेत पुनःसंरचनाबारे समेत छलफल सुरु भएको अनेरास्ववियुका सचिव समिक बडालले बताए।
अध्यक्ष चयनका लागि समय भए पनि पार्टी एकीकरण अघि बढिसकेकाले एमालेले भातृ संगठनको अधिवेशन नगर्ने निर्णय गरिसकेको छ। जसकारण तत्कालका लागि पार्टीले नै अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्व चयनमा सहमति भएलगत्तै आफूले राजीनामा दिने अध्यक्ष लामाले बताएकी छिन्।
२ वर्ष बित्दा पनि अनेरास्ववियुमा विवादका कारण १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन हुन सकेको छैन। माओवादी केन्द्रको विद्यार्थी संगठनसँग एकीकरणका लागि पनि संगठनको पुनःसंरचना गर्न लागिएको एक नेताले बताए।
पार्टीका विद्यार्थी विभाग प्रमुख रवीन्द्र अधिकारी पनि पर्यटनमन्त्री भएपछि अनेरास्ववियुको नेतृत्व चयनमा ढिलाइ भएको हो। अधिकारीले पुनःसंरचनासम्बन्धी छलफलका लागि समय दिन सकेका छैनन्।