मुख्य समाचार देश

पुनः बल्झियो अस्थायी शिक्षकको स्थायी प्रक्रिया

पुनः बल्झियो अस्थायी शिक्षकको स्थायी प्रक्रिया

काठमाडौँ। अस्थायी शिक्षकलाई स्थायी गराउन आन्तरिक परीक्षाको तयारीमा शिक्षक सेवा आयोग जुटिरहेका बेला असन्तुष्ट शिक्षकले पुनः आन्दोलन थालेका छन् ।

 

विगतको सहमति र रोजगारीको हकअनुसार कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी गराउने गरी विज्ञापन नगरिएको जनाउँदै अस्थायी शिक्षक संघर्ष समिति र पुनरुत्थान समूह नेपालले आजदेखि पुनः आन्दोलन थालेका हुन् ।

 

आयोगले शिक्षा ऐन, २०२८को नवौँ संशोधनबमोजिम आयोगले यही चैत २३ का लागि परीक्षा तोकी तयारीका अधिकांश काम पूरा गरेको छ । अस्थायी शिक्षकको दुई दशकअघिको विवाद र आन्दोलनका कारण विद्यालय शिक्षामा प्रतिकूल असर पारिरहेको छ ।

 

आयोगले नवौँ संशोधनको व्यवस्थामा टेकेर कूल दरबन्दीको ७५ प्रतिशतमा आन्तरिक परीक्षा गर्न लागे पनि आन्दोलनकारीले शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको विद्यमान संख्याभन्दा कमलाई देखाएर परीक्षा खोलेको आरोप लगाएका छन् ।

 

नेपाल शिक्षक महासंघ र संघर्ष समितिसँग गत असार ९ मा भएको सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन गर्न भदौ ३ मा तोकिएको परीक्षा स्थगन भएको थियो ।

 

आठौँ संशोधनले परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने भनेकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा र औषधोपचार थप्ने तथा ७५ प्रतिशत दरबन्दीमा आन्तरिक परीक्षा लिने व्यवस्था गरेको छ ।

विशेष