राजनीति मुख्य समाचार

रेशमलार्इ अाराेपबाट उन्मुक्ति दिन प्रधानमन्त्री, गृहमन्त्री र प्रचण्डले यसरी गरे गाेप्य छलफल

रेशमलार्इ अाराेपबाट उन्मुक्ति दिन प्रधानमन्त्री, गृहमन्त्री र प्रचण्डले यसरी गरे गाेप्य छलफल

काठमाडौं । सरकारले सांसद रमेश चौधरी रेशमलाई रिहा नगर्ने भएको छ । प्रहरीको सबै अनुसन्धानबाट उनी टीकापुर घटनाका मुख्य योजनाकार रहेको प्रमाणित भएको निस्कर्षसहित उनलाई रिहा गर्दा गलत सन्देश जाने भन्दै सरकारले रिहा नगर्ने निष्कर्ष निकालेको छ । अदालतमा प्रहरीले दायर गरेको मुद्दाको फैसला कुर्ने र त्यो भन्दा अगाडि उनलाई रिहा गर्ने विषयमा कुनै राजनीतिक निर्णय नगर्ने सत्ता गठबन्धन दलबीच सहमति भएको छ ।

 

स्रोतकाअनुसार मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ । छलफलमा उनलाई जेल बसाई, उपचार प्रक्रिया सहज बनाउने तर रिहान नगर्नेमा सहमति भएको उच्च स्रोतले नेपालपाटीलाई जानकारी दिएको छ ।

 

राजपाले रमेश चौधरीलाई रिहा गरे मात्रै सरकारमा जाने अडान लिएको छ । सांसदको सपथग्रहण भने जेलभित्रै रहेको अवस्थामा गराउन सकिनेमा सरकार सकारात्मक छ । चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका छन् ।

 

गृहमन्त्री थापाले जुस खुवाएर चौधरीलाई अस्पतालमा अनसन भने तोडाइसकेका छन् । प्रहरीले सम्पूर्ण अनुसन्धानपछि कारवाहीको माग दाबी गरेर फाइल अदालतमा पेश गरिसकेको छ । आईजीपीसहित प्रहरीका उच्च अधिकारीले पनि सांसद चौधरीलाई रिहा नगर्न प्रधानन्त्रीलाई आग्रह गरेका छन् ।

 

चौधरी अपराधी भएको प्रहरी उच्चअधिकारीको दावी
मंगलबार मात्रै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले रेशम चौधरीको नेतृत्वमा टिकापुरमा नरसंहार भएको र उनी अपराधी भएको बताएका छन् । चौधरीलगायत घटनामा संलग्नहरूलाई हदैसम्मको सजाय हुनपर्ने बताएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय बझाङको हाताभित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उदघाटनका लागि बझाङ पुगेका प्रहरी महानिरिक्षक नेपालले त्यसो बताएका हुन् । भवन उदघाटन कार्यक्रमपछि भएको पत्रकार भेटघाट कार्यक्रममा नेपालले अपराधीलाई अदालतले सजाय दिने बताएका थिए ।

 

उनले राजनीतिक निर्णयबाट रिहा गरियो भने चै प्रहरीको क्षेत्र बाहिरको विषय हुने बताए । कैलालीको टिकापुरमा भएको घटनामा एसएसपीसहित ७ जना प्रहरी र एक नाबालकको हत्या भएको थियो ।

विशेष