पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले पूर्वसांसद गुप्ताले दिए पार्टीलाई तीन दिने अल्टिमेटम
वीरगञ्ज । एमाले नेता एवंम पूर्वसांसद राजकुमार गुप्ताले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टी विधि सम्वत ढंगले नचलेको भन्दै मंगलबार एमाले पर्सा जिल्ला कार्यालयमा तीन दिने अल्टिमेटमसहितको ज्ञापन पत्र दर्ता गराएका हुन् ।
ज्ञापनपत्रमा पार्टीलाई विधि सम्वतरुपमा चालाउनुपर्ने लगायत स्थानीय पार्टी कमिटीका विविध समस्यालाई समेटिएको छ ।
जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने, स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध टिकट वितरण गरिएको, नगर कार्यपालिकाको निर्वाचनमा एमाले पराजित हुनुका कारण खोजिनुपर्ने, स्थानीय तहको निर्वाचन र संसद तथा प्रदेश सभाको निर्वाचनमा असहयोग गर्ने र पार्टी हित विपरीत काम गर्नेलाई कारवाही गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
साथै ज्ञापनपत्रमा वर्षाैं बितिसक्दा पनि जिल्ला अधिवेशन नगर्नु, पार्टीका ठूला नेताहरु वस्तुगत अवस्थाको विश्लेषण बिना नै चुनाव लड्नु स्थानीय तहको टिकट बितरणमा आर्थिक चलखेल भएको आशंका जन्मनु जस्ता समस्याका कारण पार्टी कमजोर भएको दावी गरिएको छ ।