समाज मुख्य समाचार

इतिहासमा भारतले पहिलो पटक गल्ती स्वीकार्याे, एसएसबीद्वारा मारिएका नेपालीका परिवारलाई दियो क्षतिपूर्ती

इतिहासमा भारतले पहिलो पटक गल्ती स्वीकार्याे, एसएसबीद्वारा मारिएका नेपालीका परिवारलाई दियो क्षतिपूर्ती

काठमाडौं, चैत्र ६ । भारतीय सीमा सुरक्षा बल ( एसएसबी) को कुटपिटबाट मृत्यु भएका रौतहटका मुकुलराय यादवको परिवारलाई भारतीय सरकारले क्षतिपूर्ति दिने भएको छ ।

 

एसएसबीको कुटपिटबाट विसं २०६६ सालमा मृत्यु भएका यादवको परिवारलाई भारत सरकारले क्षतिपूर्ती स्वरुपम आठ लाख रुपैयाँ दिन लागेको हो । यसअघि उक्त घटनालाई भारतले स्वीकार गरेको थिएन ।

 

सीमा क्षेत्रमा एसएसबीको गतिविधिबाट नेपाली नागरिकको मानवअधिकार हनन भएको स्वीकार गर्दै भारत सरकारले क्षतिपूर्ति दिन तयारी भएको भने यो पहिलो घटना हो ।

 

भारतको राष्ट्रिय मानवअधिकार आयोगले उक्त घटनाबारे अनुसन्धान गरेपछि एसएसबीकै कुटाईबाट यादवको मृत्यु भएको निष्कर्ष निकालेको थियो ।

 

घटनास्थल अध्ययनपछि आयोगले एसएसबीबाट मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै मृतक यादवको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन भारत सरकारलाई भनेको थियो ।

 

भारतीय मानवअधिकार आयोगले भारत सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिइएको बताउँदै गत अक्टोबरमा नेपालको मानवअधिकार आयोगसँग पीडित परिवारको बैङ्क खाता उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

 

नेपाली आयोगका पदाधिकारीहरुले पीडितका आफन्तको बैंक खाता उपलब्ध गराएपछि भारत सरकारको गृह मन्त्रालयले नेपालस्थित भारतीय दूतावासलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्र पठाएको जानकारी आयोगमा आएको राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

विशेष