राजनीति

आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप सह्य हुँदैन: प्रधानमन्त्री

आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप सह्य हुँदैन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

 

प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

 

“स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छैन विभिन्न चरणमा क्रान्ति गरियो अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन,”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिए ।

 

प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्रीले दिर्नेशन दिए ।

 

उनले भने–“गरिबी निवारणमा सबै लाग्नुपर्छ, अब तराईमा कठ्याङिग्रएर कसैले मर्नु पर्दैन, प्रदेश सरकारका लागि के कुरा आवश्यक पर्छ त्यो स्पस्ट धारणा राख्नुस् ।”

 

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न नदिने र सबै छिमेकी मुलुकसँग समान र सौहार्दपूर्ण सम्बन्ध कायम राखिने प्रष्ट पारे ।


हस्तक्षेप सह्य नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आन्तरिम मामिलामा कसैको पनि हस्तक्षेप आफूलाई सह्य नहुने चेतावनी दिएका छन्। सात वटै प्रदेशका मुख्यमन्त्रीसँगको बैठकमा ओलीले नेपालको आन्तरिक मामिलामा कुनै पनि विदेशी निकायहरुको टिप्पणी आवश्यक नहुने बताए।

केही समयदेखि छिमेकी देशसँग सम्बन्ध बिगारेको भनेर आफूमाथि गलत आरोप लगाइएको भन्दै उनले गलत प्रचारको पछि नलाग्न मुख्यमन्त्रीहरुलाई सुझाव दिए। प्रधानमन्त्री ओलीले आफू देशप्रति संवेदनशील रहेको र देशको आन्तरिक मामिलामा कसैले हात हाले सहेर नबस्ने चेतावनी दिएका हुन्।

 

नेपालका आन्तरिक समस्याहरु आफैले समाधान गर्न सक्षम रहेको भन्दै उनको भनाइ थियो। केही समयपहिले पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीको भ्रमण र युरोपियन युनियनको भनाइलाई समेत लिएर प्रधानमन्त्री ओलीले देशको आन्तरिक मामिलामा विदेशीहरुले पढाउन जरुरी नरहेको बताएका हुन्।


यसैबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिमा प्रदेश–प्रदेश प्रतिस्पर्धामा उत्रने गरी काम गर्न निर्देशन दिएका छन्।

रासस

विशेष