भक्तपुरको बागीश्वरीले पायो जिल्लाकै बढी छात्रवृत्ति
काठमाडौं । भक्तपुर नगरपालिका १ स्थित बागीश्वरी माध्यामिक विद्यालयले जिल्लाकै सबैभन्दा बढी छात्रबृत्ति पाएको छ । विद्यालयमा जिल्लाकै सबैभन्दा बढी विद्यार्थी रहेको कारण सबैभन्दा बढी छात्रबृत्ति पाएको हो ।
‘जिल्लाका ३२ माध्यमिक तह सञ्चालनमा रहेका विद्यालयमध्ये वागीश्वरीलाई उक्त रकम वितरण गरिएको हो ।’ जिशिअ अर्जुनबहादुर रायमाझीले भने । उनले विद्यालयको भौतिक पूर्वाधार पनि निकै राम्रो भएको र गुणस्तरीय रुपमा जनशक्ति उत्पादन गरेको बताए ।
कार्यालयका योजना तथा कार्यक्रम शाखाका अधिकृत यमुना पोखरेलले कक्षा ९ र १० मा जम्मा ३ हजार ६ सय १६ जना विद्यार्थी रहेको विवरण फ्ल्यास रिपोर्ट २०७४ ले देखाएको जानकारी दिइन् । तथ्यांककै आधारमा विद्यालयलाई छनोट गरिएको उनले बताइन् ।
जिल्लाका लागि कूल ७ सय ७६ कोटा प्राप्त भएको थियो । कार्यालयका अनुसार वागीश्वरी माविका ५ सय ५७ जनामध्ये १ सय २० जनाका लागि कोटा प्राप्त भएको छ । एक कोटाबापत विद्यालयले रु. एकहजार ७ सय रुपियाँ पाउने गरेको छ । जसअनुसार वागीश्वरी माविले २ लाख ३ हजार ६ पाएको छ । दोस्रोमा भने भक्तपुरकै श्रीपद्म मावि छ ।