राजनीति मुख्य समाचार

देउवालार्इ कांग्रेस नेताहरूकाे प्रश्न: प्रधानमन्त्री नहुने बेला किन संसदीय दलको नेता चाहियाे ?

देउवालार्इ कांग्रेस नेताहरूकाे प्रश्न: प्रधानमन्त्री नहुने बेला किन संसदीय दलको नेता चाहियाे ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टीले परिवर्तन खोजेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विचार गोष्ठीमा उनले परिवर्तित समयसँगै कांग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताए।

 

“कांग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उनले भने । कांग्रेस निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित भएकाे हाे । कांग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उनको भनाइ थियो ।

 

उनले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत लगाए । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा जाँदा कमजोर नतिजा ल्याएको बताए ।

 

नेता पौडेलले चार पटक प्रधानमन्त्री भएका कांग्रेसका सभापतिलाई प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुप¥यो भनी प्रश्न गरे । उनले भने “काँग्रेस हराउन कांग्रेस तयार हुन्छ तर कांग्रेस जिताउन कांग्रेस किन तयार हुँदैन ।

 

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच कांग्रेसप्रति हिनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे कांग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताए । “सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ”, उनले बताए।

 

 

प्रदेश सांसद जीवन डंगोल, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्याम तिवारीलगायतले इमान्दार कार्यकर्ताको हातमा पार्टी नपुगेसम्म काँग्रेसले पुनर्जीवन पाउन नसक्ने बताए । रासस

विशेष