राजनीति

केपी र प्रचण्डले आइतबार मन्त्रिपरिषद्काे सेटिङ सिध्याउने

केपी र प्रचण्डले आइतबार मन्त्रिपरिषद्काे सेटिङ सिध्याउने

काठमाडौं । सरकारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने अन्तिम तयारी गरेपछि सत्तारुढ दल एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

 

संघीय फोरमसँग भएको वार्ता र सम्वाद अन्तिम चरणमा छ । एमाले, माओवादी र संघीय फोरमबीच केही राजनीतिक विषयमा लिखित सहमति हुन बाँकी छ ।

 

सो सहमति हुनेवित्तिकै संघीय फोरमसहित एमाले र माओवादीका मन्त्रीलाई आइतबार मन्त्रीको शपथ गराउने स्रोतले जनाएको छ । संघीय फोरम पनि सहभागी हुने भएपछि एमाले र माओवादीका एक–एक मन्त्रालय घट्ने छन् ।

 

तीन दलबीच संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा हस्ताक्षर गर्ने तयारीसाथ शनिबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको सचिवालयले जनाएको छ ।

 

सत्तारुढ दल र फोरमबीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो । तर, फागु पर्वमा नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन सकेन ।

 

बैठकमा फोरमले पार्टीभित्र सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दलबीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ ।

 

संविधान संशोधनका विषयमा तीन दल सकारात्मक छन् । तीन दलबीच आपसी समझदारीमा संविधान संशोधन गर्ने सहमति जुटिसकेको नेताहरूको दाबी छ ।

 

मन्त्रालय बाँडफाँटको विषय भने अन्तिम टुंगो लाग्न बाँकी छ । फोरमले तीन मन्त्रालय माग गरेको छ भने एमाले र माओवादीले भने एक मन्त्री र एक राज्यमन्त्री दिन सकिने बताएका छन् ।

 

मन्त्रालय बाँडफाँटको विषयमा कुरो अड्किएको थियो । एमाले–माओवादीले फोरमलाई दुईवटा मन्त्रालय दिने गरी आन्तरिक तयारी गरेका छन् । तर, फोरमले तीनवटा मन्त्रालयमा अड्डी लिएको छ ।

 

सत्तारुढ दलले एउटा मात्र मन्त्रालय र एक राज्यमन्त्री दिन सक्ने अडान राख्नु र फोरमले तीन मन्त्रालय माग्नुले अन्तिममा २ मन्त्रालयमा सहमति हुने सम्भावना रहेको बताउँछन् ।

 

यसअघि एमाले र माओवादी केन्द्रले क्रमशः १०–७ मन्त्रालय बाँडफाँट गरेका थिए । फोरम सरकारमा सहभागी हुने अवस्थामा उनीबीच एकएक मन्त्रालय छोड्ने सहमति भएको छ ।

विशेष