यसरी पक्राउ परे अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दम्पती
काठमाडौं । अमेरिकामा रहेका राम्रा कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। दाङ घर भइ काठमाडौं कालोपुल बस्ने छविलाल चौधरी र सोही ठाउँकी सुभद्रा कर्माचार्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनीहरूलाई बुधबार काठमाडौंमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महाशाखाले जनाएको छ। श्रीमान श्रीमती रहेका चौधरी र कर्माचार्यले आफूहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत तथा विभिन्न मन्त्रीका पिए समेत रहेको भनेर प्रभावमा पार्ने गरेको अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। यो दम्पतीले रोल्पा त्रिवेणी गाउँपालिकाका भरत डाँगी लगायत सातजनाबाट लाखौं रकम असुल गरेका थिए।
चौधरी र कर्माचार्यले ईन्चिच्युट अफ ईन्फीनिटिजम कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख लाग्छ भनेर पैसा उठाएको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता उप्रेतीले बताए। उनीहरूले विभिन्न व्यक्तिबाट पटकपटक गरी २६ लाख रुपैयाँ उठाएको स्वीकार गरेको उनले बताए। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जानकारी दिएको छ।