दुई नम्बरी काम गर्ने निर्माण व्यावसायीलाई कार्वाही गर्छु : मुख्यमन्त्री राउत
धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले समयमै गुणस्तरीय काम नगर्ने दुई नम्बरी निर्माण व्यवसायीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
प्रदेश नम्बर २ को निर्माण व्यवसायी महासंघको कार्यालय समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारले निकालेको टेण्डरभन्दा कम रकममा टेण्डर स्विकार गर्ने र समयमै काम नगरी भाग्ने ठेकेदारलाई कार्वाही गर्ने चेतावनी दिए ।
‘सरकारले निकालेको टेण्डरभन्दा कम रकममा टेण्डर स्विकार गर्ने तर कामै नगरी भाग्ने निर्माण व्यवसायीलाई अब कालोसूचीमा राख्छाैं’, उनले भने, ‘ देश निर्माणको क्रममा रहेकोले क्वालिटी कम्परमाइज गरेर कुनै पनि संरचना निर्माण भए सरकारलाई मान्य हुनेछैन । प्रदेश नं. २ मा त्यस्ता निर्माण व्यवसायीलाई खुट्टा समेत टेक्न दिन्नौं ।’
मुख्यमन्त्री राउतले संघीयता लागू भएर देशमा विकास निर्माणको काम दु्रत गतिमा अघि बढ्न लागेकोले पुरानो एवं अधुरा कामहरुलाई पूर्णता दिन निर्माण व्यवसायीहरुसँग आग्रह समेत गरे ।