'म अाफैं कुचाे र झाडु लिएर सरसफाइमा निस्कने छु'
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरसफाइ र वातावरणीय स्वच्छताको लागि प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ चलाउने घोषणा गरेका छन्।
सिरहा जिल्लालाई प्रदेशको पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा समारोहमा मुख्यमन्त्री राउतले सरकारले स्वच्छता अभियानलाई नीति तथा कार्यक्रममा समेट्दै अगामी बजेटमा विशेष व्यवस्था गर्न लागेको जानकारी दिए। उनले प्रदेशलाई सफा बनाउन आफैं आठै जिल्लाको सडकमा झाडु लिएर उत्रिने घोषणा समेत गरे।
मुख्यमन्त्री राउतले मानव सूचकांकमा धेरै पछाडि रहेको प्रदेश २ लाई स्वास्थ्य, शिक्षा र रोजगारीमा ठूलै फड्को मार्नुपर्ने आश्यकता रहेको औंल्याउँदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए।
‘जनप्रतिनिधिहरुले सबैभन्दा बढी इमान्दार भएर अगाडि बढ्नुपर्छ। अनि मात्र हामी देशकै नमुना प्रदेश बनाउन सक्छौं', उनले भने।
भ्रष्टाचार यस प्रदेशको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भ्रष्टाचार गर्ने कसैलाई पनि छुट निदिइने चेतावनी समेत दिए।
सर्वसाधारणलाई उनले भने, ‘कर्मचारी वा जनप्रतिनिधिले कुनै पनि काममा अनियमितता वा ढिलासुस्ती गरेमा हामीलाई उजुरी गर्नुस्, हामीले पनि अटेरी गरे सडकमा आउने छुट तपाईंलाई छँदै छ।’
खुला दिसामुक्त जिल्ला घोषणासभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, प्रतिनिधिसभा सदस्य बोधमाया यादव, लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य सुनिता राम, राम नरेश यादव लगायतको उपस्थिति थियो।