राजनीति भिडियो

नेपालले चीनसँग सम्बन्ध तोडेर भारतसँग जोड्नुपर्छ : भारतीय नेता गोपालनारायण सिंह (भिडियो)

नेपालले चीनसँग सम्बन्ध तोडेर भारतसँग जोड्नुपर्छ : भारतीय नेता गोपालनारायण सिंह (भिडियो)

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा भारतकाे अघाेषित नाकाबन्दीप्रति कडा विराेध गरेर चर्चामा अाए । भारतको विरोधले उनलाई राष्ट्रिय अडान लिन सक्ने नेताको छवी बनायो । उनको अडानको सकारात्मक प्रभाव स्थानीय, प्रदेशहुँदै केन्द्र तहको निर्वाचनमा देखियो । जसका कारण एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गर्न सफल भयो ।

 

अहिले दुई तिहाइ मत प्राप्त गरेको बाम गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका छन् । अाम जनमानसमा उनकाे नेतृत्वमा बनेकाे वाम गठबन्धनकाे सरकारले लिने भावी कार्यदिशाले नेपाल-भारत सम्बन्धमा कस्ताे प्रभाव पर्ला भन्ने खुलदुली चलिरहेकै समयमा भारतीय जनता पार्टी राज्यसभाका नेता तथा सांसद गोपालनारायण सिंहसँग नेपाल आजले विशेष कुराकानी गरेकाे छ । नेपाल अाजले सांसद सिंहसँग गरेकाे कुराकानीकाे सम्पादित अंशः  

 

 

रोटीबेटी सम्बन्ध

नेपाल र भारतबीचकाे राजनीतिक सम्बन्ध धेरै पुरानाे हाे । नेपाली राजनीतिमा कम्युनिष्टहरूले केही समय अगाडि मात्र आफ्नो विचारधारा परिवर्तन गरेको हुन् । तर, सोच र लक्ष्य दुबै एउटै छन् । अझै पनि नेपाली राजनीतिज्ञ र नेपालीहरू दुवैले सहयोग मागेमा भारत जुनसुकै समयमा पनि सहयोग गर्न तत्पर छ ।


विगतदेखि नै विपत्का बेला सबैभन्दा धेरै भारतले सहयाेग गर्दै अाएकाे छ । किनकि हामी अलग-अलग भएपनि नजिकका मित्र हौं । यो पनि बुझ्नुहोस् की हिन्दुस्तान नेपालकाे उत्तर छिमेकी राष्ट्र चीन वा अन्य छिमेकी राष्ट्रहरुसँगकाे सम्बन्ध भन्दा भारतसँगकाे सम्बन्ध आकाश–पाताल जतिकै फरक छ । अरु राष्ट्रसँग भारतकाे जस्तो प्रगाढ सम्बन्ध न भूतकालमा थियाे न भविष्यमा हुन सक्छ । हाम्रो संस्कृति, भेषभूषा, चालचलन र विचारधारा एउटै हुनाले हामी एक अर्काका परिपूरक भएका हौं ।

 


पश्चिमा मुलुक र चीनबाट टाढै बस्नु राम्राे


तर अहिले नेपालमा वाम सरकारको उदय भएपछि एउटा कुराले मात्र भारत अलिकति सशंकित छ । नेपालले चीनसँग सम्बन्ध सुधारेर हाम्रो सुरक्षा प्रणालीमा असर नगरोस् भन्नेमा भारत अल्ली बढी चिन्तित देखिएकाे हाे । यो पनि बुझ्नु पर्छ की भारतलाई नेपालकाे वामपन्थी सरकारले कुनै असर गर्दैन । कम्युनिष्टहरूको विचार हाबी हुनु भनेको उनीहरू स्वयंलाई हानी हुनु हो ।

 

याे पनि हाे की, भारत सधैं नेपालका लागि खुला हृदय लिएर बसेको छ । भारतले नेपाललार्इ सहयाेग धेरै गरिरहेकाे छ र सहयाेग गर्न अझै तयार छ । तर, भारतबाट कसरी सहयाेग लिने नेपालले नै पहिला पहल गर्नु पर्दछ । आज पनि ९० प्रतिशत आर्थिकभार नेपालको भारतले व्यहोरिरहेको छ, चीनले होइन । यदि नेपालले आफ्नो फाइदा सोच्ने हो भने जति सकिन्छ नेपालले भारतसँग नै सम्बन्ध अघि बढाउनुको विकल्प छैन।

 

हामीले दिने जति सहयोग र सुझाव चीनले कदापि दिन सक्दैन । उसले नेपालीलाई कहिल्यै कामको अवसर दिँदैन । चीन जहाँ हात हाल्छ त्यहाँ आफ्नै कामदारसँगै मात्र काम गर्छ ।

 

नेपाल क्रिस्चियनकाे अधीनमा

चीनलगायत पश्चिमा राष्ट्रले सम्बन्ध भड्काउन सक्लान् तर मद्दतका लागि त भारत नै चाहिन्छ नेपाललाई । इतिहास हेर्न सक्नुहुन्छ,  नेपाललार्इ दुःख पर्याे भने भारतलार्इ पाेल्छ । जव नेपाललार्इ अाफ्ट्याराे परेकाे छ सबैभन्दा पहिला भारत नै पुग्छ न कि चाइना । 

 

यदि नेपालले चीनसँग सम्बन्ध सुधार गर्छ र भारतलाई बिर्सन्छ भने क्रिस्चियनले नेपालमा आफ्नो ढंगले राज गर्नेछन् । त्यसकारण चीनको लहलहैमा लाग्नुभन्दा भारतसँगको रोटीबेटीको सम्बन्धमा नै बस्नु नेपालका लागि हितकार ठहरिन्छ । नेपाल-भारत सम्बन्धबाट टाढा बस्नु नै चीनको लागि फाइदा छ । जसले नेपाल-भारत सम्बन्ध पनि प्रगाढ बन्दै जानेछ ।

 

क्रिस्चियनले नेपाललाई अधीनमा लिइसकेपछि एक-एक गरेर हरेक नेपालीलाई प्रलोभनमा पारी सबैलाई क्रिस्चियन बनाउँदै एक नेपालीविरुद्ध अर्को नेपाली खडा गर्छ । त्यसपछि हरेक नेपालीले क्रिस्चियन नागरिकता हातमा लिँदै बस्नुपर्नेछ ।

 

चीन, पाकिस्तान र पश्चिमा मुलुकहरू धर्म परिपर्तन गर्ने लालच देखाएर सम्बन्ध सुधार गर्न चाहन्छन् । भारत जहिलेपनि क्रिस्चियन तथा मुस्लिम धर्मका विरुद्धमा लड्छ र नेपाल पनि हिन्दुस्तान मुलुक हो त्यसैले उसले पनि यो पक्कै चाहँदैन ।

 

पाकिस्तान भड्काउन खोज्छ


पाकिस्तानले आफ्नै फरक संस्कृतिका प्रदेश सरकार त मिलाउन सकेको छैन भने उसले नेपाललाई के मिलाउने सल्लाह देला ? अर्काे कुरा पाकिस्तान त्यस्तो शक्तिशाली राष्ट्र पनि त होइन । पाकिस्तानकाे एउटै उद्देश्य हाे  भारतविरोधी कार्यक्रम चलाउनु । यो कुरा नेपालका बुद्धिजीवी भनाउँदाले बुझ्नुपर्ने हुन्छ ।


नेपालमा भइरहेको जुन किसिमको राजनीति छ, त्यसबाट प्रधानमन्त्री अाेली बच्न सीधा भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ । यसैमा सबै नेपालीको भलाइ हुनेछ । अनि मात्र नेपालको विकासले दिन दुई गुणा रात चौगुणा फड्को मार्नेछ । चीन, अमेरिका, युरोपियन युनियनजस्ता राष्ट्रसँग सम्बन्ध घटाउँदै भारतपरस्त हुुँदै नेपाल अघि बढ्नुपर्छ ।

 

गोपालनारायण सिंह भारत

विशेष