राजनीति

चक्रपथभन्दा पहिला मन सफा पाराैं : प्रचण्ड

चक्रपथभन्दा पहिला मन सफा पाराैं : प्रचण्ड

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन्।

 

ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औं हप्ताको विशेष समारोहमा शनिबार प्रचण्डले भने– सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज निर्माण हुन्छ।' 

 

मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको भन्दै प्रचण्डले त्यसका लागि सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे।

 

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फोहर मानिसको शत्रु भएकाले यसको विरुद्धमा अभियान चलाउनु आवश्यक रहेको बताए। 'जथाभावी फोहर फाल्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ', उनले भने।

 

गृहमन्त्रीले सार्वजनिक बसमा फोहर फाल्नेदेखि जथाभावी पार्किङ गर्ने सवारी साधनसम्मलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ रुपमा बाँच्न पाउने अधिकारलाई संविधानले ग्यारेन्टी गरेको भन्दै स्वच्छ वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए। 'सबै क्षेत्रका सरसफाइ अभियानलाई एकीकृत गरेर महाअभियान सञ्चालन गर्नु आवश्यक छ,' उनले भने।

 

०७४ वैशाख २ बाट सञ्चालन भएको अभियानले हालसम्म ७५० भन्दा बढी मेट्रिक टन फोहर हटाइसकेको र अभियानमा २५ हजारको जनसहभागिता भइसकेको अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए। 

विशेष