यी हुन् माओवादीका नयाँ जिम्मेवारी पाउने प्रदेश इन्चार्ज
काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले–माओवादी एकताबारे हालसम्म भएका प्रक्रियाका बारेमा छलफल गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालय सदस्यको बैठकले एमालेसँगको एकताबारेमा हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको हो।
पार्टी एकताको प्रक्रियालाई छिटो टुंग्याउने बैठकले निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। उनले भनिन्, ‘कार्यालयको विस्तारिक बैठकमा पार्टी एकता सम्बन्धी हालसम्म भएका कामबारे छलफल भयो।
पार्टी एकताका लागि आन्तरिक तयारी पूरा गर्ने र सकेसम्म छिटो एकतागर्नेबारे पनि छलफल भएको छ।’ यस्तै, प्रदेशले ५ वटा प्रदेशको इन्चार्ज हेरफेरसमेत तोकको छ। जसअजुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई तोकिएको छ। यसअघि प्रदेश १ को इञ्जार्च गोपाल किराती थिए।
उनलाई पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाही गरेको थियो। यस्तै, प्रदेश २ को इन्चार्जमा विश्वनाथ साहलाई तोकेको छ। यसअघि प्रदेश २ को इन्चार्ज मातृका यादव थिए।
उनी मन्त्री भएपछि साह प्रदेश २ को जिम्मा दिइएको प्रवक्ता भुसालले जानकारी दिइन्। यस्तै, प्रदेश ४ को इन्चार्जमा हितराज पाण्डेलाई तोकिएको छ। यसअघि प्रदेश ४ को इन्चार्ज देव गुरुङ थिए।
उनी पार्टी संसदीय दलको प्रमुख सचेतक भएपछि पाण्डेलाई इन्चार्जको जिम्मेवारी तोकिएको हो। यस्तै, प्रदेश ५ को इन्चार्जमा मणि थापा तोकिएका छन्। यसअघि यस प्रदेशको इन्चार्ज वर्षमान पुन थिए। उनी मन्त्री भएपछि थापालाई जिम्मेवारी तोकिएको हो।
कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मालाई तोकिएको छ। यसअघि यस प्रदेशको इन्चार्ज शक्तिबहादुर बस्नेत थिए। उनी मन्त्री भएपछि शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता भुसालले जानकारी दिइन्।