फोरम नेपालको एक टोली चीन जाँदै
काठमाडौं, चैत । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा संघीय समाजवादी फोरम नेपालका सांसद तथा नेताहरु चीन भ्रमणमा जान लागेका हुन् ।
पार्टीका उपाध्यक्ष रेणु यादवको नेतृत्व टोली आज राती चीनतर्फ प्रस्थान गर्नेछ । फोरमका चार जना प्रतिनिधिसभा सदस्य, दुई जना प्रदेशसभा सदस्य र एक जना राष्ट्रियसभा सदस्य रहेको पार्टी स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा सात दिनका लागि चीन जान लागेको नेतृ यादवले बताइन् । उनीसँग प्रतिनिधिसभाका प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव तथा प्रदेशसभा सदस्य जयराम यादव र रणध्वज लिम्बु जान लागेका हुन् ।
त्यस्तै, राष्ट्रियसभा सदस्य रामप्रित पासवान पनि सो टोलीमा सहभागि छन् ।
पार्टीको तर्फबाट दिनेश यादव, मिलनकुमार यादव, अर्जुन थापा, संजय सिंह, रामअषिश यादव, भूराज राई, शेषनारायण यादव पनि सो भ्रमण टोलीमा सहभागि रहेका जनाइएको छ ।
भ्रमणको क्रममा दुई देशको बीचका सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । तीनै तहको चुनाव सम्पन्न भएपति देशमा स्थायी राजनीतिक स्थापना हुन लागेको बेला फोरम नेपालको यो भ्रमण हुन लागेको हो ।
सरकारमा सहभागि गराउनका लागि वाम गठबन्धनले फोरम नेपालसँग वार्ता गरिरहेको छ । सविधान संशोधनको विषयमा कुरा नमिलेपछि फोरम नेपाल सरकारमा सहभागि भएको छैन ।