समाज मुख्य समाचार देश

अभियुक्त पक्राउ पर्दा लिएको सामान प्रहरीले कहिल्यै फिर्ता गर्दैन !

अभियुक्त पक्राउ पर्दा लिएको सामान प्रहरीले कहिल्यै फिर्ता गर्दैन !

चोरी अभियोगमा बाँके प्रहरीले सुर्खेतका नरेन्द्र गुरुङलाई पक्राउ गर्‍यो । पक्राउ परेका गुरुङको साथमा रहेको एक थान घडी, मोबाइल र बेल्ट प्रहरीले नियन्त्रणमा लियो । अनुसन्धानपछि उनी केहि दिनमै उनी छुटे, तर पक्राउ पर्दा प्रहरीलाई बुझाएको कुनै सामान उनले फिर्ता पाएनन् । प्रहरीले पक्राउ गरेका उनी जस्तै अहिलेसम्म धेरैले आफ्नो सामान फिर्ता नपाएको गुनासो गरे ।


जिल्ला प्रहरी कार्यालय बाँकेको रेकर्डअनुसार प्रहरीले अभियुक्तको साथबाट सामान लिएर रेकर्ड राखे पनि फिर्ता गरेको प्रमाण कतै देखिँदैन । पक्राउ परेकाको साथमा भएको सामान लिएको र अभियुक्तलाई बुझाएको भरपाई रजिष्टर बनाए पनि अभियुक्तको सामान नियन्त्रणमा लिएको भरपाई मात्र उक्त रजिष्टरमा देखिन्छ ।


अभियुक्तलाई पक्राउ गरेपछि उसको साथमा भएको सामान नियन्त्रणमा लिएर सुरक्षित साथ राख्ने र अभियुक्त छुटेपछि वा कारागार चलान भएपछि सामान जस्ताको तस्तै फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए पनि नियन्त्रणमा लिएको सामान प्रहरीले आफैले राख्ने गरेको प्रहरीको रेकर्डले देखाउँछ ।


अभियुक्तको सामान प्रहरीले फिर्ता नगरेको देखिएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका अधिकृत टंक खनालले बताए । ‘अभियुक्तको सामान लिएको रेकर्डमा देखिन्छ, तर फिर्ता गरेको कुनै प्रमाण देखिदैन,’ उनले भने ।


पक्राउ पर्ने बेला साथमा भएको सामान प्रहरीले लिएर सुरक्षित राख्ने र पछि फिर्ता गर्नुपर्ने कानून ब्यवसायी पदम पाण्डेले बताए । उनले गरेको पक्राउ परेकाहरुबाट लिएको सामान जस्ताको तस्तै बुझाउने दायित्व प्रहरीको भएको बताए । उनले पक्राउ परेकाको सामान सुरक्षितसाथ राख्नका लागि प्रहरीले लिने गरेको बताए । ‘सुरक्षा गर्ने प्रहरीले नै सामान आफैले राखिराख्नु राम्रो होइन,’ उनले भने ।

 


सुत्ने ठाउँ नहुँदा बसेर रात बिताउँदै थुनुवा

साँघुरा कोठामा धेरै अभियुक्त बस्नुपर्ने भएपछि पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका बस्न र सुत्न समस्या भएको छ । करीव १३ फिट लामो र १० फिट चौडा कोठामा करिव ७०–८० जना थुनुवा सुत्ने गरेको थुनुवा कोठामा रहेका रमेश प्रसाद अधिकारीले गुनासो गरे ।

 


उनले दिउँसोमा खासै समस्या नभए पनि रातमा धेरै अपठेरो महशुस हुने गरेको बताए । उनले पक्राउ पछि बयानका क्रममा प्रहरीले यातना नदिए पनि सानो कोठामा धेरै थुनुवा बस्नु पर्दा सास्ती भएको बताए । ‘सुत्ने ठाउँ नपाएर धेरैजसो रात बसेर बित्ने गर्छ, राम्रोसँग सुत्न नपाउँदा पीडा हुन्छ,’ उनले भने ।

 


पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका १५ बर्षिय सागर बुढाथोकीले पनि सुत्न समस्या भएको बताए । ठूलो मान्छेसँगै सुत्न र बस्न पर्दा अपठेरो लाग्ने गरेको उनले बताए ।

 


जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय बाँके पुगेका नेपाल सरकारका महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलसँग गुनासो पोख्दै थुनुवाले फराकिलो कोठाको ब्यवस्था गर्न माग गरे । थुनुवाको गुनासो सुनेपछि महान्यायाधिवक्ता खरेलले गुनासोको सम्बोधन गरिने बताए । उनले सुत्ने ब्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिए । ‘ राम्रोसँग सुत्न नपाएको थुनुवाको गुनासो छ, एसपी साव यसको ब्यवस्थापन गर्नुहोला,’ खरेलले भने ।

 


जिल्ला प्रहरीमा ६६ जना थुनुवा

जिल्ला प्रहरी कार्यालयमा ६६ जना थुनुवा छन् । ति मध्ये २३ जना लागूऔषध सम्बन्धि छन् । प्रहरीले दिएको जानकारीअनुसार केही सार्वजनिक अपराधका १४, चोरीका १०, मानव बेचविखनका २, जवरजस्ती करणी १, जवरजस्ती करणी उद्योग ४, ठगीका ३ र कर्तब्य ज्यानका २ जना पुर्पक्षका लागि थुनामा छन् । त्यसैगरि, उपहरण उद्योग तथा संगठित अपराध सम्बन्धि ६ र धर्म परिवर्तन सम्बन्धि १ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


लिखिन बयान नलिन खरेलको निर्देशन

सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले प्रहरीले अभियुक्तलाई करकापमा पारेर बयान लिन नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षको अनुगमन पछि उनले अनुसन्धानका क्रममा थुनुवासँग सोधपुछ गर्न पाइए पनि लिखित बयान गराउन नमिल्ने बताए ।


लिखित बयान गराउँदा अभियुक्तले सरकारी वकिल कार्यालयमा पनि सोही कुरा बयान दिने बताउँदै उनले लिखित बयान नगराउन प्रहरीलाई निर्देशन दिए । ‘लिखित बयान गराउने हो भने अभियुक्त परिवन्धमा पर्छ,’ उनले भने । याे खबर अाजकाे नयाँ पत्रिका दैृनिकमा छ ।

विशेष