प्रश्नै प्रश्नको घेरामा देउवा, देउवाविरुद्ध पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला आक्रामक
निर्वाचनको समीक्षा पूर्ण रूपमा सुनेर सशक्त जवाफ दिने संस्थापन पक्षको तयारी
चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा
निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ ।
देउवाले कुरे सदस्यहरूलाई एक घन्टा
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । सभापति देउवा समयमै केन्द्रीय कार्यालय सानेपा पुग्दा केन्द्रीय सदस्यहरूलाई भने कुनै हतारो लागेको थिएन । उनीहरू तोकिएको समयभन्दा ढिला बैठकस्थलतर्फ लम्किँदै थिए ।
केन्द्रीय सदस्यलाई देउवाले एक घन्टा कुरे । झन्डै एक घन्टा आफ्नै कार्यकक्षमा नेता–कार्यकर्तासँग भेटघाट गरेपछि १२ बजे मात्रै उनले बैठक सुरु गरे ।
यस्तो छ प्रकाशमान सिंहको लिखित सुझाबपत्र
पूर्वमहामन्त्री सिंहले बैठकमा ‘सुझाब एवं प्रस्ताव’ भन्दै आठ पृष्ठ लामो लिखित प्रस्ताव बाँडे । ३५ मिनेट लामो धारणा राखेपछि उनले प्रस्ताव केन्द्रीय सदस्यहरूलाई बाँडे ।
केन्द्र र प्रदेशमा सरकार बनाउने गणित कतै नभएको, महाअभियोग र अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसमेत पार्टीको नभएकोलगायतका विवरण प्रस्तुत गर्दै उनले जनताले दिएको निर्मम दण्डबारे गहिरो आत्मसमीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
माओवादीसँग आलोपालो सरकार र भरतपुर महानगरपालिकामा माओवादीसँग तालमेलले सभापति सत्तास्वार्थमा फसेको पुष्टि भएको सिंहको आरोप छ । उनले नाकाबन्दी खेपेको केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रचण्डजस्तो धोखेबाज नेतासँग मिलेर उनैलाई प्रधानमन्त्री बनाउनाले पार्टी अहिलेको हविगतमा पुगेको बताए ।
पार्टी नेतृत्वले विधान लत्याएको र भागबन्डाको संस्थागत विकास गरेको आरोप लगाउँदै अब विधानअनुसारका पदाधिकारी थप्ने औचित्य सकिएकोले छिटो महाधिवेशनमा जानुपर्ने सिंहले सुझाएका छन् ।
एकले अर्कोलाई हेर्दै
तीन नेता बोलेपछि भीष्मराज आङदेम्बे र नवीन्द्रराज जोशीलाई समय दिइएको थियो । तर, उनीहरू दुवै बैठकमा थिएनन् । पहिलो दिनको बैठक यत्तिकैमा सकियो ।
खासगरी संस्थापन पक्ष अर्को पक्षले पहिले बोलोस् र अर्को पक्ष संस्थापन पक्षले बोलेपछि जवाफ दिने ‘मुड’मा देखिन्छ । यसकारण पनि तीनजनाबाहेक अरु सदस्य बोल्न अग्रसर नभएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । ‘तीन नेता बोलेपछि डाकिएका आङदेम्बे र जोशी देखिनुभएन । अरू नेता पनि बोल्न अग्रसर भएनन्,’ घिमिरेले भने, ‘चुनावी समीक्षा भएकोले पहिले कसरी प्रस्तुत हुने भन्नेमा दुवै पक्षले एकले अर्कोलाई हेरेको देखियो ।’
पौडेल र सिटौला पक्ष मिलेर संस्थापनविरुद्ध आक्रामक बन्ने रणनीतिमा छ । तर, संस्थापन पक्ष पार्टीभित्र अर्को पक्षका अनुशासन, निर्वाचनका वेला देखाएको निष्क्रियतालाई निर्वाचन परिणामसँग दाँज्ने तयारीमा छ ।
पौडेल र सिटौला पक्षको एउटै लिखित प्रस्ताव आउने
पौडेल पक्षका नवीन्द्रराज जोशी र सिटौला पक्षका युवा नेताहरूको संयुक्त प्रस्ताव ल्याउँदै छन् । निर्वाचनमा पार्टी पराजय हुनुका कारण तथा अब के गर्ने भन्ने दुई खण्ड समेटेर दुई पक्षले संयुक्त लिखित प्रस्ताव ल्याउने तयारी गरेका हुन् । एउटै प्रस्ताव तयार गर्नका लागि शुक्रबार बैठक सकेपछि दुवै पक्षका नेताहरू अबेरसम्मै छलफलमा जुटेका थिए ।
पहिलो खण्डमा सरकारमा गएर प्रभावकारी काम गर्न नसकेको, सरकारका विशेषाधिकारयुक्त निर्णयलाई पुष्टि गर्न नसकेको विषय उल्लेख छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनु र फिर्ता लिनु, आइजिपी प्रकरण तथा राजदूत नियुक्तिमा पार्टी र सरकारले उचित जवाफ दिन नसक्दा निर्वाचनमा खराब नतिजा आएको विषय पनि समेटिएको छ ।
निर्वाचनमा लोकतान्त्रिक गठबन्धन नाम मात्रैको भएको, पार्टीका आन्तरिक संरचनाले काम नगरेको, भ्रातृ संस्थाहरू चुनावमा परिचालन नभएको, टिकट वितरण न्यायपूर्ण नभएको, नारा, घोषणापत्र घोषणामै सीमित भएको विषयलाई उनीहरूले हारका कारणका रूपमा प्रस्तुत गरेका छन् ।
अब के गर्ने ?
पौडेल र सिटौला पक्षले अब के गर्ने भन्ने निकाससहितको प्रस्ताव पनि गर्दै छन् । दुई कम्युनिस्ट एक हुँदा कांग्रेस चुनौतीले घेरिएको भन्दै उनीहरूले पार्टी ‘रेस्क्यु’ गर्नुपर्ने ठाउँमा रहेको विषय उठाउँदै छन् । ‘संसद्मा हामी खुम्चिएका छौँ प्रतिस्पर्धी कम्युनिस्ट पार्टी छ ।
उनीहरू धेरै बलिया छन्, अब कस्तो रणनीति ल्याउने ? उनीहरूको ५० र हामी ३५ प्रतिशत जति छौँ,’ घिमिरेले भने, ‘जनतासँगको सम्बन्ध पातलो भयो । कमजोर भयो । यसकारण हामी ०१५ पछिका निर्वाचनमा बहुमत ल्याएर पनि लगत्तैको निर्वाचनमा पछि किन पर्यौँ ? यो जनतासँग पातलिएको सम्बन्धनले नै हो भन्ने हाम्रो मान्यता छ ।’
जनताले अवसर दिँदा केही गर्न नसकेको जस्ता विषयबाट अब उठ्ने गरी महासमितिबाट युवा नेताहरूको एउटै पार्टीलाई जागरूक, क्रियाशील बनाउन, विधान संशोधन गर्नुपर्ने, संसद्मा खुम्चिए पनि वाम दलसँग वैचारिक र सैद्धान्तिक रूपमा सामना गर्ने गरी पार्टीका कार्यक्रम ल्याउनुपर्ने माग गर्दै छन् । आज भीष्मराज आङदेम्बे, नवीन्द्रराज, चित्रलेखा, सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, गगन थापा, धनराज गुरुङ, रामकृष्ण यादवसहितका नेताले बोल्ने तयारी गरेका छन् ।
पराजयको जिम्मा सभापतिले लिनुपर्छ
देउवाले खुलेर कुरा राख्न अनुमति दिएलगत्तै रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह बोल्न सुरु गरे । ‘पार्टीलाई हामीले जुन स्थानमा जिताउन सक्नुपर्ने हो, सकेनौँ ।
चुनावमा पार्टीको पराजयको भागिदार सभापति हुनुहुन्छ, यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ,’ ३५ मिनेट लामो भाषणमा सिंहले भने, ‘सुशीलजी (सुशील कोइराला) प्रधानमन्त्रीको उम्मेदवार भएदेखि कांग्रेसको डाउनफल सुरु भयो ।
पछि सभापति देउवाजी प्रधानमन्त्री बनेर गोवामा निर्वासित तिब्बती प्रधानमन्त्रीलाई भेट्नु, कोलम्बिया युनिभर्सिटीमा फितलो प्रस्तुति दिनु, साझा सवालमा लज्जास्पद प्रस्तुति दिनु, चितवनमा माओवादीसँग एलायन्स गर्नु र प्रचण्डकै नेतृत्वमा चुनावमा नजानुका कारण पार्टी कमजोर भयो ।’
सानो पार्टी सभापतिको कब्जामा, देश वामको कब्जामा : सिटौला
सिंहपछि कृष्णप्रसाद सिटौला देउवाविरुद्ध उत्रिए । उनले सुशील कोइरालालाई दोस्रोपटक प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि पार्टीमा विचलन र स्खलन सुरु भएको तर्क गरे ।
‘हामी चुनावसम्म आइपुग्दा झन् बिग्रियौँ । टिकट वितरणमा नातावाद, कृपावादले परिणाममा क्षति पुग्यो । समानुपातिकको लिस्ट बनाउँदा हामीलाई हेर्नै दिइएन । सभापतिले एकलौटी गर्नुभयो । रामचन्द्रजीले साथ दिनुभयो,’ देउवासँगै पौडलको पनि गल्ती कोट्याउँदै उनले अगाडि भने, ‘राप्रपाजस्तो दक्षिणपन्थी पार्टीलाई सरकारमा ल्यायौँ, यो अर्को गल्ती थियो । पार्टीलाई क्षति गरायो । लोकतान्त्रिक गठबन्धन अर्को गलत कदम थियो । महन्थले हाम्रो सहयोगले जित्नुभयो, तर उहाँहरूकै कारण विमलेन्द्रजीले हार्नुभयो । हिजो नाकाबन्दी गर्नेहरू आज केपी ओलीजीका प्रिय भए । तर, हामीले नाकाबन्दीसमेत भन्ने आँट गरेनौँ । मैले व्यक्तिगत रूपमा नाकाबन्दी भनेँ, तर पार्टीले भन्न सकेन ।’
उनले कार्यसम्पादन समिति र संसदीय बोर्ड विधानविपरीत गठन गरिएको भन्दै भंग गर्नुपर्ने माग गरे । यही तरिकाले नेतृत्व हिँडे पार्टी झन् सानो बन्ने उनको भनाइ थियो । ‘यही तरिकाले जानुभयो भने पार्टी झन् सानो–सानो बन्दै जान्छ र यही पार्टी तपाईं (सभापति)ले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ,’ सिटौलाले भने ।
पटक–पटक सरकारमा बस्ने अवसर पाएर पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको उनले बताए । उनले पटक–पटक अर्थमन्त्री बनेर पनि किसान, मजदुर र खाडी मुलुकमा जानेहरूका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै रामशरण महतको पनि आलोचना गरे । ‘किसानका लागि, मजदुरका लागि, खाडी मुलुकमा जानेहरूका लागि कार्यक्रम ल्याउन सकेनौँ, अनि हामीलाई किन जनताले भोट दिने ? जनताले किन पत्याउने ?,’ सिटौलाले प्रश्न गरे । उनले विधानअनुसार पार्टी नहिँडे अराजकता मौलाउने बताए ।
गुट अन्त्य गरौँ : डा. खड्का
डा. नारायण खड्काले चरम गुटबन्दीकै कारण पार्टी समस्यामा फसेको बताए । गुटको गन्ध आउनै नदिए मात्र पार्टी बन्ने उनको धारणा छ । खड्काले लोकतान्त्रिक गठबन्धन मधेसकेन्द्रित चार नेतालाई जिताउनका लागि गरेजस्तो नतिजा आएको मूल्यांकन गरे । ‘लोकतान्त्रिक गठबन्धन चारजना मधेसकेन्द्रित दलका नेतालाई जिताउनका लागि गरेजस्तो भयो । तर, आफ्ना नेता जिताउन सकेनौँ,’ उनले भने, ‘त्यो प्रयास पार्टीको पक्षमा थिएन, त्यसैले हित गरेन ।’
चार मिनेट के बोले देउवा ?
सभापति शेरबहादुर देउवाले बैठकको औपचारिक सुरुवात गर्दै चार मिनेट मात्रै आफ्ना कुरा राखे । छोटोमा प्रस्ट धारणा राखे । ‘यो चुनावको समीक्षा बैठक हो । चुनावमा पार्टीले व्यहोर्नुपरेको जित–हारका कारण खुलस्त राख्नुस् । र, कहाँ के कमजोरी भयो, सुधार गर्न के–के गर्न सकिन्छ सुझाब दिनुस् । बुँदागत रूपमा लिखित र मौखिक सुझाब दिनुस् । यसले पार्टीलाई सुदृढ बनाउन सहज हुन्छ,’ देउवाले यति मात्रै बोले ।
कस्तो प्रतिपक्षी बन्ला कांग्रेस ?
चरम आन्तरिक अन्तरविरोध भएको कांग्रेस वाम गठबन्धनसँग कसरी लड्ला ?
‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हो । यो व्यवस्थामा सत्ता पक्षलाई काम गर्नका लागि सय दिन अर्थात् हनिमुनको अवधि दिने भनिन्थ्यो, तर ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन । सय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ दिऊँ भन्ने पनि ओली सरकारले दिएन । सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षीको भूमिका खेल्छौँ,’ २१ फागुनमा संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै सभापति शेरबहादुर देउवाले भनेका थिए ।
स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टी कमजोर बनेपछि सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्रै चर्को आवाज उठ्न थालेको थियो । यहीबीच देउवाले सशक्त प्रतिपक्ष बन्ने सन्देश दिदै आन्तरिक असन्तुष्टीलाई विषयान्तर गर्ने प्रयास गरे ।
कांग्रेस ०४६ यताको अधिकांश समय सत्तामा रहँदै आएको छ । सुशील कोइरालाबाहेक कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र देउवा पटक–पटक प्रधानमन्त्री भए । तर, यसपटक वाम गठबन्धनको सरकार बनेपछि कांग्रेस पाँच वर्ष सत्ताबाहिर बस्नुपर्नेछ । कांग्रेससँग प्रधानमन्त्रीविरुद्ध एक्लै अविश्वासको प्रस्ताव ल्याउन सक्ने मतसमेत छैन । यस्तोे अवस्थामा देउवाले भनेजस्तै कांग्रेसले सशक्त प्रतिपक्षीको भुमिका खेल्ने सक्ला कि नसक्ला आगामी दिनमा संसदमा उसको प्रस्तुतीले देखाउने छ ।
यीनले संसद्मा प्रभाव पार्न सक्छन्
संख्यात्मक उपस्थिति सानो भए पनि प्रभाव पार्न सक्ने विषयमा बोल्न सक्ने केही नेता भने संसद्मा पुगेका छन् । गगन थापा, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, पुष्पा भुसाल, डिला संग्रौला प्रभावशाली सांसद हुन् ।
प्रभावशाली, तर वाककला नभएका सांसद
सभापति देउवा र महामन्त्री डा. शशांक कोइराला दुवै संसदमा छन् । तर, संसद्मा तयारीसाथ बोल्ने र आफ्ना कुरा अरुलाई बुझाउन सक्ने सामथ्र्य यी दुवै नेतामा खासै देखिँदैन । अघिल्लो संसद्मा शीर्ष नेताको हैसियतमा मात्रै बोले देउवाले । शशांक त बोल्दै बोलेनन् । अर्का प्रभावशाली नेता प्रकाशमान सिंह संसद्मा पुगेका छन् । तर, उनको भाषण पनि खासै प्रभावशाली हुँदैन । पार्टीका प्रभावशाली नेता भएर पनि वाककलामा तीनै नेता कमजोर छन् ।
लगातार तीनपटक सांसद भइसकेका नेता शशांक कोइराला २७ फागुनमा भने संसद्मा बोले । तर, उनी केवल एक मिनेट मात्रै रोष्टममा टिके ।
अविश्वासको प्रस्ताव ल्याउन असमर्थ
२७५ सदस्यीय संघीय संसद्मा सरकारको पक्षमा दुईतिहाइ मत हुँदा कांग्रेससँग ६३ मत मात्र छ । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने कानुनी प्रावधान छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि २५ प्रतिशत मत चाहिन्छ । तर, कांग्रेससँग २३ प्रतिशत मात्रै छ । यसर्थ योपटक कांग्रेस संसद्मा एक्लै अश्विासको प्रस्ताव ल्याउनसमेत सक्दैन ।
‘सुरुमै चुक्दै छ कांग्रेस’
केही दिनअघि सांसद गगन थापाले सशक्त प्रतिपक्षीका रूपमा प्रस्तुत हुने जनाउ दिँदै सत्तारूढका प्रत्येक कदममाथि निगरानी बढाउने भाषण संसद्मा दिएका थिए । तर, सांसदले शपथ नै नलिई केपी ओली प्रधानमन्त्री भएको, राष्ट्रपतिले राजीनामा नै नदिई दोस्रोपटक उम्मेदवारी दिएको, उम्मेदवारी दिएपछि सभामुखलाई शपथ गराएकोलगायतका जल्दाबल्दा विषय संसद्मा उठाउन नसकेको पूर्वसांसद रामहरि खतिवडाले बताए । एउटै पार्टीको सभामुख र उपसभामुख हुन नहुने कानुनी प्रवाधान भए पनि एउटै पार्टी बनाउन सार्वजनिक प्रतिबद्धता जनाएका एमाले र माओवादीले मिलेर सभामुख–उपसभामुख बाँड्दा कांग्रेसले खबरदारी गर्न नसकेको, प्रशासनिक सुधार आयोगले सुरुमा १५ वटा मन्त्रालय प्र्रस्ताव गरे पनि ओली सरकारले १८ हुँदै २१ वटा बनाउँदासमेत कांग्रेसले प्रभावकारी आवाज उठाउन नसकेको उनले बताए ।
संख्यामा कमजोर रहेको कांग्रेसमा आन्तरिक अन्तरविरोध चुलिँदै जाँदा सशक्त प्रतिपक्ष बन्न सक्नेमा उत्तिकै आशंका छ । ‘पार्टी आफैँमा सीमित भूमिकामा खुम्चिएको छ । यस्तो वेला अन्तरविरोध झन् बढ्दा भूमिका प्रभावकारी निभाउन सकिँदैन,’ युवा नेता प्रदीप पौडेलले भने, ‘त्यसैले हामीले कुनै विशेष समूहको स्वार्थभन्दा समग्र पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउँदै सशक्त भएर जाऊँ भन्ने अभियान थालेका हौँ । हामीले अन्तरविरोध कम गर्न र पार्टीको शक्ति बढाउनकै लागि नेतृत्वलाई सुधार्न खोजेका हौँ ।’
के गर्नुपर्छ कांग्रेसले ?
कांग्रेस युवा नेता प्रदीप पौडेल संख्यामा कमजोर भए पनि उपस्थिति भएको ठाउँमा सशक्त भूमिका निभाउनुपर्ने बताउँछन् । ‘हाम्रो उपस्थिति कमजोर छ । तर, जहाँ उपस्थिति छ त्यहाँ बलियो ढंगले प्रस्तुत हुनुपर्छ,’ उनले नयाँ पत्रिकासित भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रभावकारी भूमिका खेल्न हाम्रा सांसदलाई प्रभावकारी बनाउनुपर्छ । चेतना, लगाब र विषयविज्ञ बनाउनुपर्छ । साथै, सरकारका गतिविधि नजिकबाट नियाल्ने गरेपछि हामी सशक्त बन्न सक्छौं ।’
आन्तरिक एकताले मात्रै सशक्त
दिलेन्द्रप्रसाद बडु
देश र जनताको पक्षमा हाम्रो खबरदारी रहनुपर्छ । सरकार देश र जनताको विपक्षमा जाँदा आैँला ठड्याउनुपर्छ । संख्यात्मकभन्दा सैद्धान्तिक आवाज बलियो हुन्छ । हामी संख्यामा सानो भए पनि गलत विषयप्रति खबरदारी गछौँ । मुलुकको हित, विकास र समृद्धिका लागि सकारात्मक सहयोग पुर्याउँछौँ । सरकारको प्रारम्भप्रति नै असन्तुष्ट छौँ
बालकृष्ण खाण
संविधानको प्रस्तावना, संविधानका आधारभूत स्तम्भको रक्षाका लागि कांग्रेस निरन्तर लाग्छ । जनताका अधिकारको रक्षा र राष्ट्रियता, प्रजातन्त्र समाजवादका लागि हामी लाग्छौँ । राष्ट्रियतालाई कहीँकतैबाट खलल आउन दिनेछैनौँ । यसलाई सत्तारूढ दलले कमजोर पार्न खोजे हामी निरन्तर खबरदारी गर्छौं । बहुलवादमा आधारित शासन व्यवस्थालाई खलल पुर्याइए सशक्त प्रतिवाद गर्छौँ । यीबाहेक सरकारको रणनीति र नीतिअनुसार हाम्रो भूमिका हुन्छ । राम्रा र मुलुकको हितसँग जोडिएको विषयमा हाम्रो सकारात्मक सहयोग रहन्छ ।
प्रभावशाली नेता बाहिरै
दोस्रो संविधानसभामा कांग्रेस २०७ सिटसहित पहिलो पार्टी थियो । संसद्मा बोल्न र भूमिका खेल्ने एकसेएक नेता थिए । तर, अहिले ६३ सिटमा खुम्चिएको छ । संसद्मा प्रभाव छाड्ने नेताहरू निर्वाचनमा पराजित भए । सभापति देउवा र महामन्त्री शशांक कोइराला पनि संसद्मा त छन्, तर प्रायः बोल्दैनन् । बोले पनि प्रभावकारी ढंगले अरूलाई सम्झाउन सक्दैनन् । अघिल्लो संसद्मा खरो भूमिका निभएका रामचन्द्र पौडेल, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, रमेश लेखक, रामहरि खतिवडा, आनन्द ढुंगाना, धनराज गुरुङ अहिले छैनन् ।
देउवाका दुई वर्ष : कांग्रेसमा झन् भद्रगोल
देशको प्रधानमन्त्रीका रूपमा सफल, तर पार्टी सभापतिका रूपमा असफल
पार्टीभित्र गुटको नेता बन्दै ०५९ मा अलग्गै पार्टी गठन गरेका शेरबहादुर देउवा ०६४ मा पुरानै घर फर्किए । तर, एकीकरणपछि पनि पार्टीभित्र फरक धार स्थापित गर्ने अभ्यासमा निरन्तर जुटिरहे । अन्ततः सुशील कोइरालाको शेषपछि ०७२ फागुनमा कोइराला परिवारको बिरासत ढालेर उनी भारी मतले कांग्रेस सभापतिमा निर्वाचित भए । कोइराला खानदानको बलमा संस्थापन पक्षबाट निर्वाचन लडेका रामचन्द्र पौडेल पराजित भए । कांग्रेसमा ६ दशकभन्दा लामो कोइराला बिरासत ढाल्ने पहिलो व्यक्ति देउवा नै बने ।
निर्वाचन गराए
देउवाले कांग्रेसको नेतृत्व हाँकेको दुई वर्ष पूरा भइसकेको छ । पार्टी नेतृत्वमा उनको यो अवधि उतारचढावपूर्ण बित्यो । ३ चैत ०७२ देखि सभापतिको औपचारिक कार्यभार सम्हालेका उनले यो अवधिमा प्रतिपक्षमा रहेको पार्टीलाई माओवादीसँग मिलेर सत्तारूढ बनाए ।
सरकारको नेतृत्व आफैँले गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन फत्ते गराए । संविधानको विरोधमा रहेका मधेसी दललाई अन्ततः तीनै तहको निर्वाचनमा सहभागी गराउन सफल भए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको थियो भने दोस्रो र तेस्रो चरणको निर्वाचन माओवादीको सहयोगमा देउवाले गरेका हुन् । राजनीतिक ‘डेडलक’ खोल्न देउवाको भूमिका महत्वपूर्ण रह्यो ।
चुनावी नतिजा अरूको पक्षमा
तर, यी तीनै तहको निर्वाचन नतिजा कांग्रेसको पक्षमा कमजोर देखियो । निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि पार्टीभित्रै उनी आलोचकहरूको घेराबन्दीमा छन् । एमाले– माओवादीको सत्ता गठबन्धन टुटाएर पहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएर पछि आफैँ नेतृत्व लिएका उनी निर्वाचन नतिजाकै कारण सबैभन्दा बढी आलोचित भएका छन् ।
आफूसँगै सत्तारूढ भएकै वेला माओवादीले एमालेसँग मिलेर वाम गठबन्धन बनाएको भेउ नपाएको आरोप उनीमाथि छ । दुई कम्युनिस्ट शक्तिको गठबन्धन फुटाउन प्रभावकारी भूमिका खेल्न नसकेको दोष पनि उनीमाथि छ । तर, देउवा भने आफूले नेतृत्व गर्दा कांग्रेस कमजोर नबनेको दाबी गर्छन् । कांग्रेस उत्तिकै बलियो रहेको तर दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पराजय भोग्नुपरेको उनको तर्क छ । समानुपातिक निर्वाचन प्रणालीमा एमालेकै हाराहारीमा मत आएको उदाहरण दिँदै देउवा कांग्रेस कमजोर नभएको दाबी गर्दैछन् । तर, प्रभावशाली नेता मात्रै होइन सातवटै प्रदेशमा एउटा पनि सरकार गठन गर्न नसक्ने मत आएपछि देउवा नेतृत्वमाथि सयौँ प्रश्न उठाइएका छन् ।
युवा नेता प्रदीप पौडेल राजनीतिक निकासका लागि सभापतिको अग्रसरता र कदम सकारात्मक रहे पनि पार्टीलाई नतिजा दिलाउन असफल भएको बताउँछन् । ‘उहाँ सभापति हुँदा कांग्रेस प्रतिपक्षमा थियो । सभापति भएपछि कांग्रेसलाई सत्तामा पुर्याउनुभयो । माओवादी र मधेसी दलसँग समझदारी गरेर संविधान कार्यान्वयनको प्रक्रिया अघि बढाउँदै स्थानीय तह, प्रदेश, संघको निर्वाचन गराउनुभयो,’ पौडेलले भने, ‘तर, आफ्नै नेतृत्वमा निर्वाचन गराउँदासमेत कांग्रेसले परिणाम आफ्नो पक्षमा पार्न सकेन । पार्टीमा समझदारी कायम गराउन नसक्ने र पार्टी परिचालनमा चुक्दा हामी यो नतिजा व्यहोर्न बाध्य भयौँ ।’
प्रश्नै प्रश्नको घेरामा देउवा
यसअघि निर्वाचन गराउन नसकेको अपजसको भारी बोक्दै आएका देउवाले तीनवटै निर्वाचन गराएर विरोधीको मुख त टाले, तर पार्टीको पक्षमा नतिजा दिलाउन सकेनन् । युवा नेताहरू समूह नै बनाएर देउवाविरुद्ध खनिएका छन् । रामचन्द्र पौडेल पक्षको दबाब उत्तिकै छ । सरकारमा हुँदा प्रभावकारी काम गर्न नसकेको सुशासनभन्दा बदनामी कमाएको भन्दै पौडेलले केन्द्रीय समिति बैठकमा चार पाना विरोधका शब्द खर्चिए । यी समूहले चुनावी समीक्षा बैठक माग गर्दै महासमिति बैठक र विशेष महाधिवेशनसम्म जानुपर्ने बहस छेडेका छन् । निरन्तर दबाब आएपछि देउवाले चुनावी समीक्षा गर्न आजदेखि केन्द्रीय समिति बैठक बोलाएका छन् ।
‘स्थानीय तहमा प्रदेश–२ मा राम्रो नतिजा आयो भन्थ्यौँ, तर प्रदेश सभा र प्रतिनिधिसभामा कमजोर हुन पुग्यौँ,’ प्रदीप पौडेल भन्छन्, ‘हाम्रो रणनीति प्रभावकारी भएन । पार्टीमा एकता गराउन सक्नुभएन । सानो पार्टी बन्दासमेत दलको नेतामा उहाँ (सभापति) सर्वसम्मत बन्नुभएन । अरूलाई पनि सर्वसम्मत बनाउन सक्नुभएन ।’
०७० को निर्वाचनमा २०७ सिटसहित पहिलो भएको पार्टी यसपटकको निर्वाचनमा प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये ६३ मा सीमित हुन पुग्यो । प्रभावशाली नेताहरू नै पराजित भएपछि नेतृत्वको झन् चर्को आलोचना भएको छ । १३औँ महाधिवेशनमा सभापति जिताउन प्रमुख भूमिका खेल्ने सिटौला पक्ष नै अहिले देउवाको प्रखर आलोचक बनेको छ । यो पक्ष देउवाको कार्यशैलीलाई सामन्तवादी र निरंकुश संज्ञा दिन्छ । प्रभावशाली नेताहरू नै हारेपछि संसद्मा प्रतिपक्षको भूमिका पनि कमजोर हुने चिन्ताले धेरै नेतालाई सताएको छ ।
पदाधिकारी नै नियुक्त गर्न सकेनन्
सभापतिको कार्यभार सम्हालेको दुई महिनाभित्र पदाधिकारी मनोनीत गर्नुपर्ने वैधानिक व्यवस्था छ । ढिलो गरी युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ता तोके, २१ मध्ये १७ केन्द्रीय सदस्य मनोनीत गरे, नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन गराए, तर दुई वर्ष बित्दासमेत मुख्य पदाधिकारी उपसभापति, महामन्त्री, सहमहामन्त्री चयन गर्न सकेका छैनन् ।
विगतमा गिरिजादेखि सुशील कोइरालासम्म पार्टी सभापति हुँदा विधि, विधान र पद्धतिको कुरा उठाएर समानान्तर शैलीमा पार्टी गतिविधि गर्ने देउवा, आफैँ नेतृत्वमा पुगेपछि भने विधानअनुसार नचलेको आरोप छ । सीमित केही नेता बसेर महत्वपूर्ण निर्णय गराउने, बहुमतको बलमा अर्को पक्षलाई पेल्ने गरेको दोष उनीमाथि छ । केन्द्रीय समितिमा आफ्नो वर्चस्व भए पनि आफू अनुकूलका केन्द्रीय सदस्य चयन गर्न सकेका छैनन् ।
उपसभापतिका लागि नेता विमलेन्द्र निधि मुख्य दाबेदार हुन् । तर, आइजिपी प्रकरण र निर्वाचनमा मधेसी दलसँग प्रभावकारी रूपमा तालमेल गर्न नसकेपछि उनीसँग सभापतिको सम्बन्ध त्यति राम्रो नरहेको चर्चा छ । यद्यपि, असन्तुष्टि दुवै पक्षले बाहिर ल्याएका छैनन् । फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार पनि सम्भावित उपसभापतिको दाबेदारका रूपमा हेरिएका पात्र हुन् । तर, उनलाई विधान संशोधन नगरी उपसभापति दिन मिल्दैन । उपसभापति केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक हुने र देशभरको संगठनका लागि काम गर्नुपर्ने भए पनि देउवाले दुई वर्ष त्यत्तिकै खेर फाले ।
सहमहामन्त्री भइसकेका पूर्णबहादुर खड्कादेखि, ज्ञानेन्द्रबहादुर कार्कीसम्म महामन्त्रीका लागि मुख्य दाबेदार छन् । देउवानिकट नेता बालकृष्ण खाणका अनुसार अब छिट्टै पदाधिकारी चयन गर्ने तयारीमा देउवा छन् । ‘अब ढिला पनि भइसक्यो । सभापति छिट्टै पदाधिकारी नियुक्ति गर्ने तयारीमा हुनुहुन्छ,’ उनले भने । मतदानबाट निर्वाचित हुने महामन्त्री र कोषाध्यक्ष भने रामचन्द्र पौडेल पक्षले जितेको छ । अब सहमहामन्त्रीमा पनि पौडेल पक्षको दाबी छ ।
अझै बनेन संघीय संरचना
देशले संघीय संरचनाको संविधान अभ्यास गरेको साढे दुई वर्षभन्दा बढी भइसके पनि कांग्रेसले आफ्ना पार्टी संरचनालाई संघीयतामा बदल्न सकेको छैन । ०७२ फागुनको महाधिवेशनमा सात प्रदेशबाट दुई–दुई केन्द्रीय सदस्य निर्वाचित गरे पनि कांग्रेसले अरू संरचनालाई संघीय ढाँचामा बदलेको छैन । निर्वाचन क्षेत्र २४० बाट १६५ मा घटाइए पनि कांग्रेसका २४० क्षेत्रीय समितिले कसरी काम गर्ने भन्ने पनि प्रस्ट छैन । यी सबैलाई व्यवस्थित बनाउन विधान नै संशोधन गर्नुपर्ने अवस्था छ । तर, कार्यकालको आधा समय बित्न लाग्दासमेत देउवाको ध्यान यतातिर छैन ।
विभाग पनि गठन भएनन्
पार्टीका ४२ वटा विभाग पनि गठन हुन सकेका छैनन् । विभागहरू पार्टी संगठनका लागि अति महत्वपूर्ण हुन्छन् । विभागमा देशभरका सयौँ नेतालाई काम दिन सकिने र पार्टी चलायमान बनाउन सकिने भए पनि देउवाले गठन गर्न सकेका छैनन् ।
भ्रातृ संस्थाले नेतृत्व पाए, गति पाएनन्
नेविसंघ, महिला संघ र तरुण दलको वर्षौंदेखि हुन नसकेको महाधिवेशन देउवाले आफ्नो कार्यकालको यो दुई वर्षमा गराए । तर, यी संगठनमा पनि अझै पदाधिकारी, केन्द्रीय सदस्य चयन हुन सकेको छैन । गुटगत विवादका कारण संगठनले राम्रोसँग काम गर्न सकेका छैनन् ।
देउवाका दुई वर्षबारे नेताका टिप्पणी
मुलुकलाई अघि बढायौँ, निर्वाचनमा पछि पर्यौँ : बालकृष्ण खाण
दुई वर्षभित्र संविधान कार्यान्वयनका क्रममा मुलुक धेरै अघि बढेको छ । स्थानीय, प्रदेश, संघीय चुनाव कांग्रेसकै नेतृत्वमा सम्पन्न भए । असन्तुष्ट दलहरूलाई पनि कांग्रेसले मूलधारमा ल्यायो । तर, हामी निर्वाचनमा पहिलोबाट दोस्रोमा पुगेका छौँ । देशलाई निकास दिन सफल भए पनि कांग्रेसलाई संगठित रूपमा सुधार गर्नुपर्ने आवश्यकता अहिले छ ।
बलियो पार्टीका लागि सभापति चिन्तित हुनुपर्छ : प्रदीप पौडेल
हामीले राजनीतिक निकासका लागि सकारात्मक काम गरेका छौँ । तर, निर्वाचनमा पार्टी पराजय भएपछि नेता कार्यकर्ता र जनतामा निराशा छ । अब पार्टीलाई कसरी बलियो बनाउने ख्याल गर्नुपर्छ । सम्पूर्ण एकता गरेर बलियो पार्टी नबनाएसम्म हामी फेरि पनि सफल हुन सक्दैनौँ ।
सभापतिले आफूपछिको नेतृत्वको चिन्ता त्याग्नुपर्छ । अबको निर्वाचनमा देशको पहिलो पार्टी कांग्रेसलाई बनाउन दृढ संकल्प गर्नुपर्छ । उहाँ सफल सभापति र प्रधानमन्त्री भइसक्नुभएको छ । अब व्यक्ति कमजोर हुने होइन । जिम्मेवारीबाट हटेर पार्टीको भविष्यप्रति चिन्तित हुनुपर्छ ।
पार्टी कमजोर भएपछि निर्वाचन हार्नुपर्ने कारणमा बढी प्रतिशतको हिसाब आफ्नो भागमा आयो भन्ने बोध गरेर उहाँले कदम चाल्नुपर्छ । प्रभावकारी प्रतिपक्षी र निराशा भएका कार्यकर्तालाई उत्साह भर्ने गरी अब पार्टी रूपान्तरण गरेर जानुपर्छ ।
उतारचढावपूर्ण दुई वर्ष
पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक
शेरबहादुर देउवाजीले यसअघि विधानको पालना गर्नुपर्छ भनेर गिरिजा र सुशीलमाथि सधैँ दबाब र आरोप लगाउँदै आउनुभयो । तर, जब उहाँ आफैँ सभापति भएर विधानलाई पालना गर्ने ठाउँमा पुग्नुभयो, आफैँ चुक्नुभएको छ । दुई वर्षसम्म पदाधिकारी चयन, विभाग गठन, भ्रातृ संस्थालाई पूर्णता दिने, केन्द्रीय समितिलाई पूर्णता दिनेजस्ता महत्वपूर्ण काम गर्न सक्नुभएन ।
पार्टीभित्र लक्ष्मणरेखा झन् खिचिँदै गएको छ । तर, उहाँले रोक्न सकिरहनुभएको छैन । निरन्तर पार्टी कार्यालयमा जाने, नेता कार्यकर्ता भेट्ने र अफिसियल काम गर्ने गरेको देखिएन । गम्भीरतापूर्वक पार्टीप्रति चासो राखेको देखिएन ।
यी नकारात्मक पाटो हुँदाहुँदै निर्णायक मोडमा तीन तहको निर्वाचन गराएर उहाँले प्रशंसा भने बटुल्नुभएको छ । मधेसी दललाई संविधानप्रति स्वीकार्य बनाउँदै जाने वातावरण बनाउने र यसको कार्यान्वयनका लागि बाटो खोलिदिनुभएकोमा उहाँ धन्यवादको पात्र हुनुहुन्छ । राजनीतिक निकास खोल्नु, तर पार्टीलाई जिताउन नसक्नु भने उहाँको कमजोरी रह्यो । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।