मुख्य समाचार देश

‘सञ्चारसम्बन्धी डेढ दर्जन कानुन आउँदै छन्’

‘सञ्चारसम्बन्धी डेढ दर्जन कानुन आउँदै छन्’

सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रसँग सम्बन्धित डेढ दर्जन कानुनको मस्यौदा बनिरहेको बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा राज्यमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रसँग सम्बन्धित ६ वटा नयाँ ऐन मस्यौदा भइरहेको बताएका हुन् ।

 

उनले सञ्चार क्षेत्रसँग आधा दर्जन नयाँ ऐन मस्यौदाका क्रममा रहेको र एक दर्जन कानुन संशोधनका लागि तयारी भइरहेको बताए । सबै कानुन आइसकेपछि संविधानअनुसार सञ्चार क्षेत्रका समस्या सम्बोधन हुने राज्यमन्त्री बाँस्कोटाले बताए । सरकार श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न र समयानुकूल परिमार्जन गर्न प्रतिबद्ध रहेको जानकारी दिए ।

 

उनले सञ्चार गृहहरू पनि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकारजत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा राखे । राष्ट्र, राष्ट्रहित, देशभक्ति, सार्वभौमसत्ता, अखण्डता, सामाजिक सद्भावजस्ता विषय सबैका लागि महत्वपूर्ण भएकाले प्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘ती मामिलामा प्रेसले पनि सेन्सरसिप स्वीकार गर्नुपर्छ ,’ बाँस्कोटाले भने ।

 

अर्को प्रसंगमा राज्यमन्त्री बाँस्कोटाले केन्द्र र प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन तथा समानुपातिक विज्ञापन नीति लागू गराउन ध्यान केन्द्रित भएको बताए । चौतारीका अध्यक्ष गणेश बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटालाई सफल कार्यकालका लागि शुभकामना दिएको थियो ।  याे खबर नयाँ पत्रिका दैनिकमा छ ।

विशेष