कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, बैठक डेढ घन्टा पनि बसेन
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठक डेढ घन्टा पनि नबसी अपराह्न ३ बजेसम्मका लागि स्थगित भएको छ।
सोमबार बिहान साढे १० बजेतिर सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, डिला संग्रौला, रमेश लेखक र लक्ष्मी परियारले आफ्ना धारणा राखेपछि स्थगित भएको हो।
चार जनाले धारणा राखेपछि सभापति शेरबहादुर देउवाले बैठक अपह्न ३ बजेसम्मका लागि स्थगित गरेका हुन्।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि बस्ने भएकाले कांग्रेस बैठक ३ बजेसम्मका लागि स्थगीत भएको र पुनः बस्न सक्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
निर्वाचनको समीक्षा, संगठनको अवस्था र भावी रणनीतिबारे छलफल गर्न शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय सिमिति बैठक शनिबारपछि आज बिहान ९ बजेका लागि तय गरिएको थियो।
तर, निर्धारित समयमा पार्टी नेतृत्वदेखि सदस्यहरुसमेत उपस्थित हुन नसकेपछि बैठक झन्डै डेढ घन्टा ढिलोगरी बसेको थियो।
सोमबारको बैठकमा बोल्ने समयको माग गर्दै २६ जना सदस्यले नाम टिपाएका छन्। पहिलो दिन ३ जना र दोस्रो दिनमा ८ जनाले आफ्ना धारणा राखेका थिए। अघिल्ला बैठकमा सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति नेताहरुले आलोचना गरेका थिए। बैठकमा बोल्न चाहने सदस्यहरुले नाम टिपाउने क्रम भने जारी छ।