पहारीका कारण एमालेमा बल्झियो विवाद, ओली गुटमै भनाभन
काठमाडौं । नेकपा एमालेको भातृ संघठन युवा संघमा संयोजक राजिब पहारीको कार्यशैलीलाई लिएर पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली गुटभित्रै असन्तुष्टि चुलिएको छ ।
कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै ओली पक्षधरकै बीचमा भनाभनसमेत भएको छ । संयोजक पहारीको कार्यशैलीलाई लिएर ओली पक्षधरकै नेताहरुले समेत सार्वजनिक आपत्ति व्यक्त गरेका छन् ।
ओलीको जबरजस्त पकडका कारण असन्तुष्ट पक्षको धक्काले खासै अर्थ राखेको पाइँदैन । तर, ओली पक्षधर पहारीले दुई बर्षमा जम्मा एक पटकमात्र केन्द्रीय समितिको बैठक बसालेको र संघलाई व्यक्तिगत सौदाबाजीमा प्रयोग गरेको भन्दै असन्तुष्टि चुलिएको हो ।
पहारी प्रदेश सांसद भएसँगै नेतृत्व हस्तान्तरण होला भन्ने आशमा रहेका युवा संघका ओली पक्षधर अन्य नेताहरु यतिबेला बिलखबन्दमा परेका छन् ।
युवा संघभित्र ओली बर्चश्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भनि परिचित नेतृ सरस्वती खड्काले फेसबुक मार्फत युवा संघका इन्चार्ज फेर्नुपर्ने माग गरेकी छिन् । इन्चार्ज महेन्द्र पाण्डेलाई भेला बोलाउनका लागि पटक पटक आग्रह गर्दा पनि पाण्डे मौन बसेको र पहारीको असक्षमताको मौन साक्षी भएको खड्कालगायतकाले गुनासो गर्दै आएका छन् । उनले बुढो नेताले युवा संघलाई पार लाउन नसक्ने भन्दै मैदानमा आफू हाजिर भएको सन्देश दिएकी छिन् ।
पार्टीले युवा संघको महाधिवेशन नगर्ने तर भेला मार्फत पुर्नगठन गर्ने निर्णय गरेको थियो । भेला बोलाउन ओली पक्षधरले पाण्डे र पहारीलाई पटकपटक आन्तरिकरुपमा दबाब दिएपनि उनले सुनेको नसुन्यै गरेको भन्दै खड्का, किरण पौडेल, रमेश पौडेललगायतहरुले पहारीबिरुद्ध आन्तरिक कसरत शुरु गरेको स्रोतले बतायो ।
ओली गुटकै बीचमा सार्वजनिक असन्तुष्टि देखिएपछि बरिष्ठ नेता माधब नेपाल पक्षधरका नेताहरु भने उत्साहित भएका छन् । पहारीको पेलाइ र हेपाइ कस्तो हुँदो रैछ भन्ने सबैले बुझ्दै गएको भन्दै नेतृ दिलु पन्त, नरेश केसीलगायतले चिया गफ चुट्न थालेको एक विद्यार्थी नेताले बताए । उनीहरुले पहारीका कारण ओली गुट भत्किएको निष्कर्ष निकालेको बताइएको छ ।