राजनीति

'बराबरी हैसियतमा मात्र पार्टी एकता हुन्छ, बाहिर बोलिएका सबै हल्ला मात्र हुन्'

'बराबरी हैसियतमा मात्र पार्टी एकता हुन्छ, बाहिर बोलिएका सबै हल्ला मात्र हुन्'

काठमाडौ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका छन् । बाहिर चर्चा चलेजस्तो ७०/३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता नहुने बताए ।

 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका बेला आएको प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।


स्थानीय चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६०/४० को भागवण्डा भएको भन्दै उनले भने, ‘बाहिर भनिएजस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन ।

 

बराबरीबाहेक पार्टी एकता हुँदैन ।’पार्टीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै प्रचण्डले पार्टी एकता गर्दा संगठनमा बराबरी भागवण्डा हुनुपर्ने बताए ।

 

एमाले नेताहरुले भने चुनावी परिणामअनुसार ७०/३० को मोडल हुन सक्ने बताएका छन् ।

 

माओवादी अध्यक्ष प्रचण्डले भने चुनावका लागि बनाएको विधि पार्टी एकतामा लागू नहुने बताए । विगतका पार्टी एकताहरुमा पनि बराबरी हैसियत दिएको सुनाउँदै उनले झण्डै ५०/५० प्रतिशतकै हैसियतमा एकता हुने बताए ।

 

पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुवै अध्यक्षको क्षेत्राधिकार समान हुने उनले बताए । पार्टी एकता चाँडै गर्ने भनिए पनि कार्यविधि अझै नटुंगिएको र यसले समय लिने भन्दै बैशाख १० मा एकता हुन सक्ने बताए ।

 

प्रचण्डले भनेका छन्, ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेेपछि मात्र एकता गर्नुपर्छ ।’

 

विशेष