राजनीति

प्रधानमन्त्रीले किन झिकाए राजदुत र कूटनीतिक नियोगका प्रमुखहरुलाई बालुवाटार

प्रधानमन्त्रीले किन झिकाए राजदुत र कूटनीतिक नियोगका प्रमुखहरुलाई बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरुलाई बालुवाटार बोलाएका छन्। देशको समसामयिक विषयमा ‘ब्रिफिङ’ गर्ने कार्यक्रमका लागि प्रधानमन्त्रीले राजदुतहरुलाई बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज मध्यान्ह १२ बजे बालुवाटारमा प्रधानमन्त्रीले राजदूतहरुलाई ‘ब्रिफिङ’ गर्नेछन्।

 

भारत र चीन भ्रमणको विषयमा दुविधा भइरहेको र युरोपियन युनियनको निर्वाचन पर्यवेक्षणका विषयमा विवाद भएको समयमा प्रधानमन्त्री ओलीले विदेशी कुटनीतिक नियोगका प्रमुख र राजदुतहरुलाई छलफलका लागि बोलाएका हुन्। 

 

भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, युरोपियन युनियन लगायतका निकायका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको प्रधानम्रन्त्री कार्यालयले जनाएको छ।

 

यसअघि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका विषयमा युरोपियन युनियनले सार्वजनिक गरेको पर्यवेक्षण प्रतिवेदनबारे सरकार, निर्वाचन आयोग तथा अन्य विभिन्न पक्षबाट आलोचना भइरहेको अवस्थामा प्रधानमन्त्रीले राजदूतहरुलाई छलफलका लागि बोलाउनुलाई फरक अर्थमा लिइएको छ। 

 

परराष्ट्र मन्त्रालयको संयोजनमा काठमाडौस्थित सबै देश र नियोगका राजदूतलाई बालुवाटार बोलाइएको हो। छलफलमा गठबन्धन सरकारका नीति तथा योजनाबारे ‘ब्रिफिङ’को तयारी छ। वाम गठवन्धनको आगामी कार्यक्रम र विदेशी निकायसँगको सम्बन्धको बारेमा समेत प्रधानमन्त्री ओलीले आफ्ना धारणा राख्ने बताइएको छ। 

विशेष