मुख्य समाचार देश

प्रदेश नम्वर ७ मा प्राविधिक शिक्षा र व्यवसायीक तालिमका नाममा चर्काे ठगी

प्रदेश नम्वर ७ मा प्राविधिक शिक्षा र व्यवसायीक तालिमका नाममा चर्काे ठगी

प्रदेश नम्वर ७ का विभिन्न जिल्लाहरुमा प्राविधिक शिक्षा र व्यवसायीक तालिमका नाममा ठगी बढ्दै गएको छ । फर्जी कागजात बनाउने, अनुमति विना शाखा खोल्ने र एक तालिम भनेर अर्कै दिने लगायतका कामहरु गर्दै ठगी गर्ने क्रम बढ्दै गएको छ ।

 

विद्यार्थीहरुबाटै भविष्य अन्यौलमा परेपछि ठगेको भन्दै उजुरी पर्न थालेका छन् । कतिपय सञ्चालकहरु पक्राउ परे पनि अधिकांश अवैध रुपमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठग्दै भागिरहेका छन् ।

 

फर्जी प्रक्रियाबाट सञ्चालित धनगढी स्थित मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) को नाम बेचेर विद्यार्थीबाट ठूलो परिमाणमा रकम असुलेपछि सञ्चालक राजाराम चौधरी लाखौं रकम धरौटी राखेर छुटेका छन् ।

उनले ठगी गरेको भन्दै केही समय प्रहरी नियन्त्रणमा राखिएको भएपनि केही समयपछि लाखौं रकम सेटिङ् गर्दै उनी रिहा भए। विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भयो ।

 

अहिले प्राविधिक शिक्षा दिने भन्दै ठगी गरेको आरोपमा कैलालीको अत्तरियाको सुपर लिंक टेक्निकल कलेजका २ जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ। निर्मला विष्ट र धर्मराज भट्टले ठगी गरेको भन्दै विद्यार्थीहरुले मुद्धा हालेपछि उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका छन्।

 

अनुसन्धानबाट उनीहरुले सबै कागजी प्रक्रिया नपुर्याएको र विद्यार्थीलाई ठगेर प्राविधिक शिक्षा र तालिम दिईरहेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायवक उपरीक्षक वीर बहादुर बुढा मगरले बताए ।

 

सुपर लिंक टेक्निकल कलेजले प्राविधिक शिक्षा दिने भन्दै ठगी गरेको भन्दै मुख्य कार्यालय रहेको कञ्चनपुरमा पनि विद्यार्थीहरुले मुद्धा दर्ता गरेका छन । सुपर लिंक टेक्निकल कलेजले कृषि जेटिए र उद्यम विकास सहजर्कता पढाउने भन्दै ठगेको विद्यार्थीहरु वताउँछन । सञ्चालक वलदेव भट्ट लाखौ रकम लिएर सात महिनादेखि फरार रहेका छन ।

 

सुपर लिंक कलेजमा अध्ययनरत विद्यार्थीहरुले दुई वर्षदेखि पढाएर परीक्षा नलिएको भन्दै ठगेकोले हालिएको मुद्धामा अनुसन्धान नै अगाडी वढेको छैन्।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ज्ञानवहादुर सेठीले सञ्चालक वलदेव भट्ट फरार रहेकाले अनुसन्धान अघि नवढेको बताए। प्राविधिक शिक्षाको नाममा ठगी गरेको भन्दै दार्चुलाको न्यू चौलानी टेक्निकल ईन्सच्युट विरुद्ध उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिहेको छ ।

 

महेन्द्रनगरमा शाखा कार्यालय रहेको भन्दै अनुमति विनै सञ्चालन गरेर ईन्सच्युटले विद्यार्थीबाट लाखौं रकम ठगि गरेको भन्दै सञ्चालकद्धय ललितसिंह खत्री र पुष्कर सिंह बाेहरालाई पक्राउ गरी अनुसन्धान भईरहेको छ।

 

सीटीईभीटीबाट अनुमति नलिएर सञ्चालन गरेकाे, तालिमको स्वीकृत नलिएको र नक्कली कागजात बनाएर ठगी भएको विषयमा खोजी गरिरहेको दार्चुलाका प्रहरी निरीक्षक खड्गबहादुर भण्डारीले बताए। मोटो रकम कमाई हुने भन्दै प्राविधिक शिक्षा र व्यवसायिक तालिमका नाममा ठगी बढेको हो ।

 

कृषि जेटिए, भेटेरिनरी जेटीए र कम्युटर आईटीका प्राविधिक शिक्षा र उद्यमशीलता र व्यवसायका बिभिन्न तालिमहरु दिने भनेर ठग्ने क्रम बढेको सम्बद्धहरु बताउँछन् ।

विशेष