समाज मुख्य समाचार

झण्डै डेढ सय वर्षपछि हटायाे भारतले गौरीफन्टा बजार

झण्डै डेढ सय वर्षपछि हटायाे भारतले गौरीफन्टा बजार

धनगढी । झण्डै डेढ सय वर्षअघिदेखि सञ्चालनमा रहेको नेपाल–भारत सिमानाको गौरीफन्टा बजार भारतको उत्तर प्रदेश सरकारले हटाउने निर्णय गरेको दुई वर्षपछि पूर्णरूपमा विस्थापित भएको छ ।

 

सीमा बजार विस्थापित भएपछि दुदवा नेसनल पार्कभित्रबाट नेपाल सीमामा आउने सडक समेत बन्द हुन सक्ने आशंकाले व्यवसायी चिन्तित भएका छन् ।

एसियाको दोस्रो ठूलो दुदवा नेसनल पार्कको वन्यजन्तु संरक्षण क्षेत्रभित्र रहेको गौरीफन्टा बजार भारतको उत्तरप्रदेश सरकारले दुई वर्षअघि नै हटाउने निर्णय गरेको थियो । नेपाली सीमामा रहेको गौरीफन्टा बजार सीमा क्षेत्रका नेपालीको प्रमुख व्यापारिक केन्द्र हो । गौरीफन्टा नाकालाई नेपाली पक्षले पटकपटक स्तरोन्नति गर्न माग गरिरहँदा भारतीय पक्षले भने नेसनल पार्क संरक्षणका कारण सीमा बजार नै विस्थापित गरेको हो ।

धनगढीदेखि ४ किलोमिटर दूरीमा रहेको गौरीफन्टा बजार बन्द भएकोमा उपभोक्ताहरूले चिन्ता गरे पनि नेपाली व्यवसायी भने खुसी भएका छन् । दैनिक उपभोग्य वस्तुका लागि सीमा क्षेत्रका प्राय: सबै उपभोक्ता पुग्ने गरेको गौरीफन्टा बजार बन्द भएपछि त्यसको असर धनगढी बजारमा परेको छ । डेढसय बढी पसल भएको गौरीफन्टा बजार बन्द गर्न ३६ किलोमिटर दूरीमा रहेको अर्को भारतीय बजार पलियाका व्यवसायीले लामो समयदेखि लबिइङ गर्दै आएका थिए । गौरीफन्टा बजारका कारण नेपाली उपभोक्ता पलिया जान छोडेपछि उनीहरूले अवैध रूपमा सञ्चालन आएको बजार बन्द गर्न गत महिना नेसनलपार्क पुगेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्ञापन पत्र नै बुझाएका थिए ।

भारतमा ईस्ट इन्डिया कम्पनी सरकारले सन् १९०५ देखि सञ्चालन गरेको पलिया गौरीफन्टा रेलमार्ग र सडकमार्गभन्दा पनि गौरीफन्टा बजार पुरानो हो । दुदवा नेसनल पार्कका कारण भारत सरकारले ८९ वर्षपछि १९९४ मा रेलमार्ग र सडक बन्द गर्ने निर्णय गरिसकेको थियो ।

डब्लुडब्लुएफ लगायत वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाहरूको दबाबमा भारत सरकारले रेलमार्ग र सडक बन्द गर्ने निर्णय गरे पनि नेसनल पार्क क्षेत्रभित्रै रहेको गौरीफन्टा बजार भने हटाएको थिएन ।

‘बजार, सडक र रेलमार्ग सबै अस्थायी नै थिए,’ गौरीफण्टामा दुई पुस्तादेखि व्यवसाय सञ्चालन गर्दै आएका देवशरण गुप्ताले भने, ‘सन् ९४ मा नै सरकारले बजार बन्द गर्ने निर्णय गरे पनि यसपटक मात्र बजार उठाएको हो ।’ सन् ९४ मा पलियादेखि गौरीफन्टासम्मको सडक मार्ग पनि अवैध रूपमा सञ्चालन भइरहेको उनले बताए । ‘सीमा क्षेत्रमा आवतजावतका लागि सहज होस् भनेर उत्तरप्रदेश सरकारका अधिकारीहरूले व्यावहारिक रूपमा यातायात सञ्चालन गर्न दिएका मात्र हुन्,’ व्यवसायी गुप्ताले भने, ‘सम्भवत: दुदवा नेसनल पार्कलाई छलेर नेपाल सीमासम्म वैकल्पिक मार्ग निर्माण गर्न भारतीय पक्षले सर्भे समेत गरिसकेको छ ।’

सीमा बजार पूर्णरूपमा विस्थापित भएपछि नेपाली व्यवसायी र उद्योगीहरू भारतीय पक्षले नेसनल पार्कभित्र हुँदै आएको सडक समेत बन्द गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । नेसनल पार्क भित्रको सडक बन्द गरेर बाइपास रोड निर्माणका लागि उत्तरप्रदेश सरकारले सडक सर्भे गरिरहेकाले पनि नाकाको भविष्यमा अन्योल देखिएको छ ।

‘यो नाका नेसनल पार्कका कारण वा अन्य कुनै पनि कारणले बन्द भयो भने पश्चिम नेपालको प्रमुख व्यापारिक सहर धनगढीको भविष्य नै अन्योलमा पर्न सक्छ,’ प्रदेशका प्रमुख उद्योगपति ओमप्रकाश अग्रवालले भने, ‘पटकपटक यस विषयमा राज्यका निकायलाई जानकारी गराइएको हो तर अहिले सम्म कुनै सुनुवाइ हुन सकेको छैन ।’ गौरीफन्टा बजार विस्थापित भएर नेपाली पक्षलाई कुनै फरक पर्दैन तर पलिया–गौरीफन्टा जोड्ने सडक मार्गको विकल्प नखोज्ने हो भने कुनै पनि दिन भारतीय पक्षले नेसनल पार्कका कारण सडक नै बन्द गर्न सक्ने आशंकाले व्यवसायी चिन्तित भएका छन् ।

नेपाली प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यस क्षेत्रका उद्योगी व्यवसायीहरूले संस्थागत रूपमा नै भारतसँग नाकाको स्तरोन्नतिका लागि पहल गर्न आग्रह गर्दै आएका छन् । पछिल्लो पटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा गौरीफन्टा भन्सार नाका स्तरोन्नतिका विषयमा दुवै देशका अधिकारीबीच छलफलसमेत भएको थियो ।

विशेष