सिंहले भने कांग्रेसमा टालटुले पारा देखाउने भन्दा परिवर्तनकारी नेतृत्व हुनुपर्छ
नेपालगञ्ज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको बलमिच्याइँले पार्टी लथालिंग अवस्थामा पुगेको बताएका छन्।
प्रेस युनियन, बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेसका प्रभावशाली नेता सिंहले पार्टीमा व्यक्ति जोगाउने प्रवृत्ति हावी हुँदा कांग्रेस इतिहासमै कमजोर भएको टिप्पणी गरे । ‘पार्टीमा काम चलाउने शैलीमा नेता जोगाउने खेल भइरहेको छ । यसमा सुधार हुनुपर्छ । तब मात्रै कांग्रेस बलियो हुन्छ, सिंहले भने, केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण कांग्रेसलाई कमजोर हुन दिनु हुँदैन ।’
लामो समयसम्म देउवाको निकट भएर काम गरेका सिंहले पार्टीमा देउवाको हावी हुने बित्तिकै लथालिंगको अवस्था आएको बताए । ‘पार्टी लथालिंग भयो भन्ने कार्यकर्ताहरुको आरोप छ । त्यसलाई गएको निर्वाचनलाई पुष्टि गर्यो, पूर्व महामन्त्री सिंहले भने । सिंहले कांग्रेसको वर्तमान कार्यशैली बदल्न आवश्यक रहेको बताए ।
पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि पोखेका सिंह हालै संसदीय नेताका लागि देउवासँग प्रतिस्पर्धा गरेका थिए । यद्यपि उनी पराजित भए ।
सिंहले पार्टीको जारी केन्द्रिय समिति बैठकमा आफूले पार्टीको कमी कमजोरीलाई लिखित रुपमा औल्याएर पार्टी नेतृत्वलाई बुझाएको जानकारी दिए । उनले १३ औं महाधिवेशनपछि विधानले निर्देशित गरेका कुराहरु दुई वर्ष पुगिसक्दा पनि कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।
नेता सिंहले युरोपियन युनियनको पछिल्लो भनाईप्रति कडा आपत्ति जनाए । नेपाली जनताले बनाएको संविधानप्रति कसैलाई टिप्पणी गर्ने अधिकार नभएको सिंहको भनाइ थियो ।