परराष्ट्रमन्त्री ज्ञवालीले भने: बढी घनिष्ठता भएकैले नेपाल-भारत सम्बन्धमा तिक्तता अाएकाे हाे
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच घनिष्ठतम् सम्बन्धको विकल्प नभएको बताएका छन्।
नेपाल भारत मैत्री समाजले बुधबार आयोजना गरेको ‘सरकारका प्राथमिकता र चुनौती’ नामक गोष्ठीमा उनले भने, ‘अति घनिष्ठ भएकै कारण नेपाल र भारतबीच यदाकदा तिक्तता आउने गरेका छन्। र, ती विभिन्न तिक्तताबाट हामीले लिनु पर्ने शिक्षा एउटा मात्रै छ, त्यो हामीबीच घनिष्ठतम सम्बन्ध बाहेक अर्को विकल्प हामीसँग छैन।’
प्रधानमन्त्रीले केपी ओलीले मंगलबार विदेशी कुटनीतिज्ञहरु समक्ष प्रस्तुत गरेका ६ बुँदे प्राथमिकतालाई विस्तार गर्दै मन्त्री ज्ञवालीले भने, ‘वर्तमान सरकारले विशाल जनमत हासिल गरेकोले जनअपेक्षा पूरा गर्नु उसको कर्तव्य बनेको छ । जलविद्युत लगायत विविध क्षत्रमा प्रचुर लगानीको सम्भावना छ।’
उनले नेपालमा भएको लगानी र नाफाको सुरक्षा गर्नु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गरिदिन आग्रह गरेका थिए। गोष्ठीमा भारतीय राजदुत मन्जिवसिंह पुरी गेस्ट अफ अनरका रूपमा सहभागी थिए ।