चिनियाँ राजदूतले मागिन् बुढीगण्डकी आयोजनाबारे आधिकारिक धारणा
काठमाडौं । चिनियाँ राजदूत यु होङले बुढीगण्डकी आयोजनाबारे सरकारको आधिकारिक धारणाबारे जिज्ञाशा राखेकी छिन् । ऊर्जामन्त्री वर्षमान पुनसँगको भेटमा उनले बुढीगण्डकी आयोजनामा सरकारको योजना के हो ? भनेर जिज्ञाशा राखेको स्रोतले बतायो ।
राजदूत होङले गेजुवालाई दिएको बुढीगण्डकी आयोजना फिर्ता गर्ने नेपाल सरकारको निर्णयले चिनियाँ कम्पनीहरु नेपालमा लगानी लिएर आउन पछाडि हटेको जानकारी पनि मन्त्री पुनलाई दिएकी छिन् ।
‘सरकारी कम्पनीले पाएको ठेक्का नै सरकारले नै रद्ध गर्दा हामी पनि चिन्तित छौं,’ होङले भनेककी छिन्,’वर्तमान सरकारले यसबारेमा के सोचेको छ ? हामी जान्न चाहान्छौं ।’
उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन सरकार र त्यहाँको निजी क्षेत्र इच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण बनाउनपर्ने पनि बताइन् ।
राजदूत होङले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनियाँ लगानीकर्ता नेपालमा आउने सम्भावना पनि बढेको बताइन् ।
उनले चिनियाँं कामदारको भिसा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेकी छन् ।
अहिले चिनियाँ कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको बताएकी छन् ।
उनले ऊर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी दिएकी छन् । त्यसका लागि नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दीर्घकालिन रुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गरेकी छन् ।
भेटमा मन्त्री पुनले भने चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफूले समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । मन्त्री पुनले रसुवा-केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गरेका छन् ।
राजदूतसँगको भेटमा मन्त्री पुनले ठुला आयोजना निर्माणको लागीे चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गरेका छन् ।