राजनीति विचार

कांग्रेसमा सक्रिय ७ गुटः बैचारिक पतनको ‘क्लाइमेक्स’

गिरिजाले नै सुरु गरेको बिचारविहिन गुटको अभ्यासले कांग्रेसलाई चाँडै राप्रपाकै हालत बनाउनेछ

कांग्रेसमा सक्रिय ७ गुटः बैचारिक पतनको ‘क्लाइमेक्स’

राेहित शर्मा ।

 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा गुटहरुबीच बाझाबाझको श्रृंखला सृंखला जारी छ । उनीहरु कुनै एजेण्डामाथि बहस गर्नु भन्दा पनि एकले अर्कोलाई खुइल्याउन अभ्यस्त छन् ।

 

पार्टी सभापति शेरबहादुर देउवामाथि केही नेताहरु व्यक्तिगत आलोचनामै उत्रिएर बैठकमै गाली गरिरहेका छन् । अहिलेसम्म बोल्ने ३० भन्दा बढी नेताहरुले आफ्नो भाषण सभापति देउवालाई गाली गर्नमै केन्द्रित गरे ।

 

सँगै आफ्नो ‘गुट’ रक्षाको लागि माहोल बनाउन पनि नेताहरु अभ्यस्त देखिएका छन् । कुनै एक नेतालाई गाली गर्ने र आफ्नो माहोल बनाउने नेताहरुको तरिका देखिँदैआएको छ ।

 

त्यसो त बैठक सुरु हुनु अघि देखि नै नेताहरु गुट निर्माणमा अभ्यस्त देखिँदैआएका छन् । अहिलेसम्म कम्तिमा ७ जना नेताहरु आआफ्नो गुट निर्माण र रक्षाको लागि खुलेआम ‘लबी’ गरिरेहका छन् ।

 

सभापति देउवाका निकटस्थहरु भने भाषणको पूर्ण आशय सभापतिको प्रशंसामै खर्चिएका छन् । देउवाकै कारण मुलुक यहाँसम्म आएको भन्दै देउवाका निकटस्थहरु उनको प्रशंसा गर्दैछन् ।


अर्कोतर्फ, नेता रामचन्द्र पौडेल समूह, प्रकाशमान सिंह लगायत नेता निकट भनी चिनिनेहरु सभापतिकै कारण पार्टी कमजोर भएको भन्दै आफू उम्किने दाउमा छन् ।

 

कांग्रेसमा ७ गुट सक्रिय

स्थापना कालदेखि नै गुट निर्माणको संस्कार बसेको हो कांग्रेसमा । त्यसो त, प्रारम्भिक कालमा बैचारिक गुट थिए । गिरिजा प्रसाद कोइराला सभापति बनेपछि पार्टीमा अस्वस्थ प्रपिष्पर्धा सुरु भएको धेरैको टिप्पणी छ ।

 

त्यसैको श्रृंखला जारी छ अहिलेसम्म । कुनै बेला गिरिजाको संस्थापन गुटको पेलानमा परेका वर्तमान सभापति देउवा अहिले आफू गिरिजाकै अभ्यास गरिरहेका छन् ।

 

व्यक्तिगत निर्णयबाटै पार्टी संचालन गर्ने उनको अभ्यासले थप अन्य गुट निर्माणको लागि वातावरण सृजना गरिरहेको छ । र उनलाई आलोचना गर्दै अन्य थुप्रै नेताहरु आआफ्नै गुट चलाउन अभ्यस्त छन् ।

 

पछिल्लो समय कांग्रेसको इतिहासमै सबैभन्दा धेरै गुट देखिए । कम्तिमा ७ वटा गुट प्रत्यक्ष संचालनमा छन् । सभापति संशेरबहादुर देउवा स्वयं संस्थापन गुट संचालन गरिरहेका छन् । जुन पार्टीभित्र प्रभावशाली पनि छ ।

 

बैचारिक लाईन भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलको आफ्नै गुट छ । केही पुराना र निस्क्रिय नेताहरुको सूची पौडेल गुटमा छ ।

 

कम उमेर र अनुभवका केही नेताहरु ‘युवा’को दाबी गर्दै पार्टीको पुनसंरचना गर्नुपर्ने स्वरका साथ कृष्ण प्रसाद सिटौलाको गुट हाँकिरहेका छन् । गगन थापा लगायत नेताहरु सिटौलासँगै उभिएका छन् ।

पार्टीमा बावुको ‘लेगेसी’कै कारण नेता भएका प्रकाशमान सिंहको पनि आफ्नै गुट छ । पहिले देउवाकै लाइनमा उभिने सिंह अहिले आफैँ नेता बन्ने दाउमा देखिएका छन् । उनको पहल पूर्णतः सभापतिसँग ‘इगो’मा केन्द्रित देखिन्छ ।

 

भ्रष्टाचार अभियोगमा जेल जीवन काटिसकेका नेता खुमबहादुर खड्का पनि अर्का गुट संचालक हुन् । अहिले बिरामी भएर उपचाररत भए पनि खड्काको आफ्नै किसिमको ‘साइलेन्ट लाइन’ छ ।

 

खड्काका विश्वासपात्र हरु खड्काको नामबाट चिनिन हिच्किचाउँछन् । तिनिहरु सार्वजनिक रुपमा देउवानिकट भनी चिनिन्छन् । तर पार्टीभित्र खड्काको पक्षमा खुलेर लबी गर्दैआएका छन् ।

शशांक कोइराला पनि अर्का राजनीतिक ‘खेलाडी’ हुन् । उनी आफैँ आफ्नो गुटबारे कसैलाई जानकारी समेत दिँदैनन् । तर आफ्नो पक्षमा लाग्न केही युवालाई खटाउँछन् नै ।

कोइराला ‘लेगेसी’को रक्षाको लागि पनि आफ्नो आवस्यकता रहेको भन्दै शशांक आफ्नो औचित्य पुष्टि गर्न अभ्यासरत छन् ।

जुत्ता पालिस गर्दै चर्चामा आएका चन्द्र भण्डारी, धनराज गुरुङ लगायत अर्को टीम पनि सक्रिय छ । उनीहरु पनि आफूलाई ‘युवा नेता’ दाबी गर्छन् । तर सोच र चिन्तनमा नयाँपन भने देखाउँदैनन् ।

 

कुनै पनि गुटसँग प्रष्ट बिचारको खाका छैन । उनीहरु मूलतः अस्तित्व रक्षाकै लागि गुट संचालन गरिरहेका देखिन्छन् । र आलोचना पनि बैचारिक प्रबृत्तिमा केन्द्रित नभएर व्यक्तिगत विषयमा छन् ।

 

यतिसम्म कि, बैठकको बेला ‘निर्वाचनको बेला टिकट बेचेको पैसा खै ?’ भन्ने सस्ता र आस्यास्पद प्रश्न समेत सोधियो । कांग्रेसमा अहिले सक्रिय रहेका गुटको प्रबृत्ति अन्ततः बैचारिक पतनको ‘क्लाइमेक्स’ हो । जसलाई साँच्चिकै बैचारिक पुनसंरचना नगर्ने हो भने कांग्रेस चाँडै नै राप्रपाको हालतमा पुग्नेछ ।

 

 

विशेष