प्रधानमन्त्री ओली र गगनको एकमत: ‘जात या धर्मका नाममा देश विभाजित हुन दिने छैनौँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेली र कांग्रेसका युवा नेता गगन थापाले जात या धर्मका नाममा मुलुकमा कुनै हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जैन धर्मका संस्थापक भगवान महावीर जयन्तीका अवसरमा नेपाल जैन परिषदद्वरा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा दुवै जनाले यस्ताे प्रतिवद्धता जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा हालै युरोपेली युनियनको निर्वाचन पर्यवेक्षणद्वारा खस आर्यको समावेशी प्रतिनिधित्व विरुद्ध गरेको टिप्पणीप्रति संकेत लक्षित गरेका थिए ।
‘गौरवपूर्ण इतिहास बोकेको हाम्रो देश कुनै पनि नाममा विभाजित हुन दिने छैनौँ। देशमा हिंसा फैलिन दिनु हुँदैन । त्यो सँगै देशको स्वतन्त्रता र सार्वभौमसत्ता बचाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन कुमार थापाले मुलुकमा सहअस्तित्वको भावनाको बिस्तार गर्न सरकारले भूमिका खेल्नु पर्ने बताए। थापाले भने, ‘केही दिनदेखि नियतवस जात र धर्मका नाममा हिंसा फैलाउने कोशिस भइरहेका छन्। त्यो हुन नदिन सरकारले विशेष कदम चाल्नु पर्छ ।’
त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले आफू त्यसप्रति चनाखो रहेको कुनै पनि हालतमा सदियौँदेखि मिलेर बस्ने समुदायलाई भड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले नेपाललाई हेप्ने मौका नदिनका लागि पनि विकास तीब्र गतिमा अघि बढाउनुको विकल्प नभएको बताए।‘अब कुरा गरेर हैन काम गरेर देखाउनु छ ।मैले रेल ल्याउँछु भन्दा कुरा मात्रै हो भनियो । अब त्यो रेल ल्याउने काम सुरुवात भइसकेको छ’, ओलीले भने।
ओलीले समाजलाई सही बाटो देखाउने मध्ये एक भगवान महावीर पनि एक भएको बताए। शान्ती कायम गर्न महावीरले खेलेको भूमिका आज पनि त्यतिकै महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले त्यसको अनुसरण गर्न आवश्यक रहेको बताए।