राजनीति

झापाका वडाध्यक्ष दारुले झ्याप भएपछि ओलीलाई नैतिक प्रश्न

वडाध्यक्षको उदेकलाग्दो हर्कतः कुखुरा चोरदेखि जंड्याहासम्म !

झापाका वडाध्यक्ष दारुले झ्याप भएपछि ओलीलाई नैतिक प्रश्न

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, सांसद, जनप्रतिनिधि र कर्मचारीहरुलाई लक्षित गरी केही साताअघि एक भाषण गरेका थिए । त्यसबेला उनले आदेशात्मक भाषामा चेतावनी नै दिएका थिए ।

 

‘तल–माथि गर्न नपाइने’ भन्दै ओलीले आदेश दिएको केही सातामै उनकै गृहजिल्ला झापाको मेचीनगर २ का वडाध्यक्ष तीलक न्यौपाने मदिराले मातेको अवस्थामा भेटिए । रोचक त के भने जंड्याहा वडाध्यक्ष तीलक प्रधानमन्त्री ओलीको पार्टी एमालेको तर्फबाटै निर्वाचित जनप्रतिनिधि पनि हुन् ।

 

पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

 

स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगियो ।

 

बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्की समेत काम विशेषले वडा कार्यालय पुग्दा उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए ।

 

नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए ।

 

जंड्याहा स्वभावका न्यौपानेलाई टिकट दिनु हुँदैन भन्ने कुरा चुनावअघि उठे पनि अन्ततः उनले टिकट पाएका थिए । यद्यपि उनको बानी सुध्रिएन ।

 

बुधबार भने स्थानीयको गुनासोपछि वडा कार्यालय पुग्दा वडाध्यक्ष न्यौपाने कार्यालयको कुर्सीमा बेसुर अवस्थामा घुरिरहेका थिए । नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरे । अन्ततः प्रहरीले उनलाई अन्य जनप्रतिनिधिको रोहवरमा फेरि रक्सी पिएर कार्यालय नबस्ने शर्तमा रिहा गरेको छ ।

 

यता प्रधानमन्त्री ओलीले सुशासन प्रत्याभूत गराउने भन्दै जनतामाझ भाषण गरिरहँदा उनकै सहयोगीहरु एक पछि अर्को उदेकलाग्दो घटना घटाइरहेका छन् । केही साताअघि उपमेयरले वडाध्यक्ष र सदस्यलाई कुटेको समाचार भाइरल बनेको थियो ।

 

त्यस्तै कालिकोटस्थित एक वडाध्यक्षले कुखुरा चोरेपछि आम युवाले उक्त समाचारलाई हास्यास्पद रुपमा ब्यंग्य गरे । गाडी नदिएको भन्दै माइन्युट च्यात्ने, कुखुरा चोर्ने, योजना पास गर्न अनसन बस्ने जनप्रतिनिधिहरुले प्रधानमन्त्रीको सुशासन योजनामाथि नै ठट्टा गरिरहेका छन् ।

 

पछिल्लो समय दारुले झ्याप बनेका झापाका वडाध्यक्षको घटनालाई लिएर झापाबासी नेता तथा प्रधानमन्त्री ओलीमाथि समेत कटाक्ष हुँदैआएको छ । केही दिनयता वडाध्यक्ष न्यौपानेको तस्वीरलाई सामाजिक संजालमा भाइरल बनाइएको छ ।

 

 

विशेष