लाेग्नेको रिस ६ वर्षे छोरामाथि, तातो आइरनले छाेरा डाम्ने सरला
विराटनगर । अन्नपूर्ण बोर्डिङ स्कूल, विराटनगरमा युकेजीमा अध्ययनरत एक बालक सधैँजसो विद्यालय ढिला गरी आउँथे । मंगलवार पनि उनी विद्यालय आइपुग्न ढिलै भयो । विद्यालयकी शिक्षिकाले उनीसँग ढिला आउनुको कारण सोधिन् । त्यसपछि जब ती बालकले आफ्नो शरीरको आलो घाउ देखाए, तब शिक्षिकाको होस उँड्यो । ती बालकको शरीरभरी तातो आइरनले डामेको निसान थियो ।
खासमा उनलाई यसरी यातना दिने अरु कोही नभएर उनकी आमा सरला काफ्ले थिइन् ।
आमाबाट उनले यातना पाएको यो पहिलोपटक थिएन, त्यसअघि उनले यातना पाउने गरेका थिए । विद्यालयले ती आमालाई छोरा नकुट्न पटक-पटक आग्रह पनि गर्यो, तर उनले कहिल्यै मानिनन् ।
पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै छोरालाई यातना दिन नछाडेपछि विद्यालय विराटनगर- ३ की सरला काफ्लेविरुद्ध प्रहरी प्रशासन गुहार्ने निष्कर्षमा पुग्यो ।
तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले बताए ।
छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।
श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले छोरामाथि पोख्ने गरेको छिमेकी सीता अर्याल बताउँछिन् । उनका श्रीमा विक्रम काफ्ले काठमाडौंमा बस्छन् ।
बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् । ‘बुढा भएका बाबुआमालाई सरलाले यातना दिएपछि काठमाडौं लगेँ, छोरोसँगै थियो, यस्तो भएछ,’ उनले भने ।
पारिवारिक सम्बन्धमा दरार
विराटनगरका विक्रम र झापा गैरीगंजकी सरलाबीच ०६७ साल झण्डै ८ वर्षअघि मागी बिबाह भएकाे थियाे । विक्रम विवाहपछि वैदेशिक रोजगारीका शिलशिलामा युएई पुगे । उनी २०१३ मा नेपाल फर्किएका थिए । त्यसक्रममा सरला पनि युएई पुगेर श्रीमानसँग सात महिना बसेर आएकी थिइन् ।
नेपाल फर्किएपछि परिवारमा कलह सुरू भयो । अनावश्यक विवाद हुन थालेपछि विक्रमका आमाबुबा छोराबुहारीसँग छुटिएर काठमाडौ बस्न थाले ।
सँगै बस्न नसक्ने भएपछि सरलाले जिल्ला अदालतमा माना चामलको मुद्दा हालेकी छन् ।
तर, आफ्नो रिसले ६ वर्षे छोरालाई तातो आइरनले डाम्नेसम्मको हर्कत सरताले गर्छिन् भनेर विक्रमले सोचेका समेत थिएनन् ।
आफू काठमाडौं भएको बेला सरलाले छोरालाई आइरनले छाडेपछि उनी विराटनगर पुगेका छन् । सरला भने जेलको हावा खाइरहेकी छन् ।