राजनीति

लोकतन्त्रलार्इ थेगो नबनाउनुहाेस्, सुखी र समृद्ध नेपाल अबको लक्ष्य हुनुपर्छः राष्ट्रपति भण्डारी

लोकतन्त्रलार्इ थेगो नबनाउनुहाेस्,  सुखी र समृद्ध नेपाल अबको लक्ष्य हुनुपर्छः राष्ट्रपति  भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनलाई बिहीबार सम्बोधन गर्दै सुखी र समृद्ध नेपाल अबको लक्ष्य हुनुपर्ने बताएकी छन्। उनले लोकतन्त्र थेगोमात्र नभएर जीवनपद्धति भएको र मानिसको जीवनमा परिवर्तन नल्याए यसको कुनै अर्थ नरहने पनि उल्लेख गरेकी छन्।

 

उनले भनिन्, जनचाहना र आवश्यकताको सम्बोधन गर्न हामीले निष्ठापूर्वक कर्तव्य पालना गर्नुपर्छ, देश र जनताको सर्वोपरि हित नै हाम्रो लक्ष्य हुनुपर्छ।’

 

तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको छ, उनले भनिन्,'सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक हुनुपर्छ तब मात्र तीव्र गतिको समृद्धिको यात्रामा देशलाई अघि बढाउन सकिन्छ ।

 

पूर्ण लोकतान्त्रिक समृद्ध मुलुक बनाउन युवाको ऊर्जा अब देशकै लागि उपयोग हुनुपर्नेमा पनि राष्ट्रपतिको जोड छ । उनले भनिन्, ‘युवालाई कसरी सक्षम बनाउने सोच्नैपर्छ, पोषण र शिक्षामा उचित ध्यान दिनुपर्छ, नागरिकका लागि स्वतन्त्र, भयरहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षा हुनुपर्छ।’

 

उनले लोकतन्त्र थेगो होइन, जीवनप्रणाली भएको उल्लेख गर्दै जनताको जीवनमा परिवर्तन नआए लोकतन्त्र अर्थहीन नारामात्र हुन जाने बताइन्।

 

उनले भनिन् ‘नेपाल बौद्धिकता र सम्पन्नताको भूमि हो यहाँ सबैले समान अधिकार र समान अवसर पाउनुपर्छ।’ सम्बोधन कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको थियो ।

 

विशेष