प्रस्तुत भएका दुई अध्यादेशमध्ये एक अध्यादेश संसदद्वारा पारित
काठमाडौं । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ। संसदको शुक्रबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
त्यस्तै शुक्रबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गरेका छन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” प्रस्तुत गरे।
यी दुई अध्यादेश यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो। संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।