राजनीति

अन्ततः केपी ओलीले नै फुटाए राजपा–फोरम

सरकार गठनसँगै यसरी टुट्यो फोरम–राजपा गठबन्धन

अन्ततः केपी ओलीले नै फुटाए राजपा–फोरम

 

लोकेन्द्र भट्ट ।

मधेश आन्दोलनको बेला एकसाथ रहेका मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालबीचको सहकार्य सरकार गठनसँगै सकिएको छ ।

 

संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सदनदेखि सडकसम्मको आन्दोलन अघि बढाएका यी दुई दल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै फरक–फरक कित्तामा देखिएका हुन् ।

 

संविधान संशोधनको कुरै छोडै कमा र फूलस्टप समेत परिवर्तन गर्न नमिल्ने आडान राख्दै आएको दल एमालेको नेतृत्वको सरकारमा सहभागी हुने फोरमको तयारीले राजपा नेपालका शीर्ष तहका नेताहरू फोरमप्रति बढ़ी नै सशंकित हुन थालेका छन् ।

 

तर एमालेले हिजोका सबै कुरा बिर्सेर फोरमलाई सरकारमा सहभागिता गराउन संविधान संशोधनका लागि लिखित सहमति समेत गर्नसकिने बताइसकेको छ । यस्तै फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि अब राजपासँगको सहकार्यको च्याप्टर सकिएको बताएका छन् ।

 

संघीय सरकारमा फोरम सहभागी भए राजपाले उसको सरकारलाई प्रदेश २ मा दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको बुझिएको छ । ओली र यादवको राजपालाई ‘साइड’मा राखेर केन्द्रदेखि प्रदेशसम्मको सहकार्यलाई अगाडि  बढ्ने मनसाय रहेकाे बुझिएको छ ।

 

जसकारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा विश्वासको मत लिँदा नेकपा एमाले र माओवादी केन्द्रले पक्षमा मतदान गरेका थिए । त्यसैले राजपा सरकारबाट बाहिरिए पनि प्रदेश २ मा बाम गठबन्धनसँग मिल्दा फोरमको सरकार टिक्ने सम्भावना छ । प्रदेश २ मा राजपाका २५ र फोरमका २९ सांसद छन् ।

 

यसरी केन्द्र सरकारमा फोरम सहभागी भएसँगै प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई राजपाले विश्वास फिर्ता लिने सम्भावना बढ्दो छ । यसले मधेस आन्दोलन र मधेसी दलहरुबीचको राष्ट्रिय राजनीतिक तिक्तता पक्कै बढाउनेछ ।

 

मधेसमा अधिकारको कुरा उठाउँदैआएका बुद्धीजीवीहरुले भने फोरमको यस्तो शैलीलाई आलोचना गर्न थालेका छन् । फोरमले राजपा र मधेसको मुद्दालाई धोका दिएको उनीहरुको बुझाइ छ ।

 

एमालेले फुटायो फोरम–राजपा

राजपाका केही नेताहरुको बुझाइ यस्तो पनि छ कि, प्रधानमन्त्री केपी ओलीकै पहलमा फोरम र राजपाको सहकार्य टुटेको हो । ओली स्वयंले फोरम र राजपाको सहकार्य टुटाएर आफ्नो सरकार टिकाउने ओलीको प्रयत्न सफल भएको राजपाका नेताहरुको बुझाइ छ ।

 

राजपाका एक पदाधिकारीले भने, ‘ओली जे चाहन्थे त्यही भयो । हामीलाई फुटाएर उनी शासन गर्न चाहन्थे त्यही भयो । र फोरमका उपेन्द्र यादवले ओलीको सहारामा सत्तामा पुगे ।’

 

फोरमका नेता यादवले राजपासँग सहकार्य टुटेको बताउन थालेपछि भने राजपाका नेताहरुले ओलीको कुटिल चालमा फोरम फसेको र मधेसका मुद्दालाई त्यसले हानी गरेको बुझ्न थालेका छन् ।

 

विशेष