प्रधानमन्त्री ओलीले विप्लवलाई चेतावनी दिदै भने, ‘विप्लव जी तपार्इँकाे अलि बढ्ता भयो क्या!’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दलाई चेतावनी दिएका छन्।
शनिबार रिपोर्टस् क्लबको वार्षिक उत्वसको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफू र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विप्लवले जारी गरेको वारेन्टप्रति लक्षित गर्दै राजनीतिक मजाक नगर्न चेनावनी दिएका हुन्।
उनले भने, ‘केपी ओलीलाई वारेन्ट जारी रे। सात दिनभित्र हाजिर हुन आउनु रे। म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु। अलि बढ्ता भो क्या।’
उनले चन्दा उठाउन क्रान्तिका कुरा गरेको आरोपसमेत लगाए। प्रधानमन्त्री ओलीले ठट्ठा र मजाक गर्ने भए कलाकार बन्नसमेत विप्लवलाई सुझाए। उनले भने, ‘मजाक नै गर्ने भए म हरिवंश मदनकृष्ण, धुर्मुस सुन्तलीसँग गए हुन्छ, बरु म सिफारिस गरिदिन्छु।’