राजनीति

वाम एकता संसदीय दलको संयुक्त बैठक डाकियो

वाम एकता संसदीय दलको संयुक्त बैठक डाकियो

काठमाडौँ । एमाले र माअाेवादी केन्द्रले शनिबार दुवै पार्टीकाे संयुक्त संसदीय दलकाे बैठकमा बाेलाएकाे छ । पार्टी एकता गर्ने निर्णयमा पुगिसकेकाे अवस्थामा संसदीय गतिविधिमा एकरूपता दिनेबारे प्रशिक्षणका लागि संयुक्त बैठक बाेलाइएकाे हाे । 

 

सोमबारबाट संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई केही प्रशिक्षण दिन लागिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

 

श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरूलाई निर्देशनसहितको प्रशिक्षण दिनेछन् । नयाँबानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको छ । दुवै दलबाट धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिइने श्रेष्ठले बताए ।

 

एमाले र माओवादीबीच गत फागुन ७ गते पार्टी एकतासम्बन्धी ७ बुँदे आधारपत्रमा हस्ताक्षर भइसकेको छ । फागुनभित्र सबै काम सकेर चैतको पहिलो साता औपचारिक रूपमा दुई दल एकताको घोषणा गर्ने तयारी दलहरूले गरिरहेकाे छ ।

विशेष