राजनीति

नयाँ सांसदलाई संसदीय अभ्यास सिकाउँदै नेम्वाङ

नयाँ सांसदलाई संसदीय अभ्यास सिकाउँदै नेम्वाङ

काठमाडौँ । “संसद्मा बोल्दा सभामुखबाहेक अरुलाई सम्बोधन गर्नु पर्दैन ।” संसदीय प्रणाली र अभ्यासमा खारिएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सांसदलाई सचेत गराउँदै भने, “कतिपय सांसदले प्रधानमन्त्री, पार्टीका अध्यक्ष, मन्त्रीगण, दर्शक र पत्रकारसमेतलाई सम्बोधन गरेको विगतका अनुभवमा देखिन्छ, जुन नियम विपरीत हो ।” 

 

प्रतिनिधिसभा र राष्ट्रियसभाका वाम गठबन्धनका सदस्यहरुको प्रशिक्षणमूलक संयुक्त बैठकमा एमाले नेता एवं पूर्वसभामुख नेम्वाङले कानूनी र प्राविधिक विषयलाई मसिनो रुपमा केलाउँदै संसद्मा कसरी प्रभावकारी प्रस्तुत हुने भन्नेमा दिएका मन्तव्य सांसदहरुका लागि एक प्रकारको सूत्र (टिप्स) सावित भयो । 

शून्य र ढ्यापढ्यापे समय के हो, यसको उपयोग कसरी गर्ने भन्नेदेखि नेपालको संविधान, कानून, स्थापित संसदीय अभ्यास र परम्परालाई प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको सो बैठकमा उनले स्पष्ट पारेका थिए । 

 

संघीय संसद्मा रहेका वाम गठबन्धनका २१४ मध्ये अधिकांश नयाँ सदस्य भएकाले गठबन्धनले शपथ ग्रहण हुने अघिल्लो दिन बैठकको आयोजना गरेको हो । पार्टी एकताको आधार तय गरिसकेको सो गठबन्धनले सांसदहरुलाई सरकार र सदनको प्रभावकारिता र मुलुकको समृद्धिमा केन्द्रित हुन निर्देशित गरेको हो । 

 

संविधानसभामा अध्यक्षसमेत रहनुभएका कानूनका जानकार नेम्वाङले सदनको नियममा नभए पनि माननीय सदस्यहरुले लागेको विषयमा एक मिनेटमा बोल्ने परम्परालाई शून्य समय भनिएको र विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा विपक्षी नेपाली काँग्रेसले सदनका कार्यसूचीमा प्रवेश गर्नुअघि ढ्यापढ्याप गरेर समय लिई बोल्ने परम्परालाई ढ्यापढ्यापे भनिएको उल्लेख गरे । 

 

सांसदहरुलाई बैठककक्षमा रहँदा पत्रपत्रिका नपढ्न, मोबाइल प्रयोग नगर्न तथा विचार प्रस्तुत वा नियमापत्ति गर्दा व्यक्तिगत ठिप्पणी नगरी अध्ययन र तर्कका आधारमा शिष्ट भाषामा प्रभावकारिता देखाउन नेम्वाङले सुझाव दिए । 

 

सदनमा सदस्यहरु प्रायः उपस्थित हुनुपर्ने, प्रधानमन्त्रीको सम्बोधनका दिन सबै मन्त्री उपस्थित हुनुपर्ने, सबैको बोली व्यवहार र हाउभाउसमेत मर्यादित हुनुपर्नेमा जोड दिँदै उनले खाली कुर्सी वा माननीयले हाई काढेर बसेको पाइएमा सञ्चारमाध्यमले तस्वीर खिचेर बाहिर लानेतर्फ पनि सतर्क हुनुपर्ने बताए । 

 

विकसित मुलुकमा भने हाइ काढेका भरमा समाचार नबन्ने भएकाले त्यसमा पत्रकारले पनि विचार पुर्याउनुपर्ने उनकाे तर्क थियो । “कहिलेकाहीँ लगातार आठ घण्टासम्म बैठक हुनसक्छ, त्यसरी काम गरेको नदेख्ने अनि हाई गरेको मात्र देखाइदिने गर्दा संसदीय व्यवस्थालाई अनावश्यक विवादमा लान्छ । यस्तोमा पत्रकारले पनि मनन गर्नुपर्छ ।” 

 

वाम गठबन्धनले निर्वाचनमा गरेको वाचाअनुसार अबको संसद् र सरकारले काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “संसद्को काम सरकारलाई अंकुश लगाउने होइन, प्रभावकारी बनाउने हो । संसद् प्रभावकारी नभएमा सरकारमा पनि प्रभावकारी हुँदैन । यसमा विशेष हेक्का राख्नुहोला । हामीलाई जनताले निगरानी गरिरहेका हुनेछन् ।” 

 

दुवै दलले पार्टी एकताको प्रक्रिया चाँडै निचोडमा लाने तयारी गरेकाले चाँडै एउटै संसदीय दल बन्ने उद्घोष गरिरहेकाले गठबन्धनका सांसदहरुमा दुई पार्टीका सदस्य भन्ने नभई एउटै पार्टी भइसकेको भावसहित बैठकमा सहभागी भएका थिए । 

 

ओली, दाहाल र नेम्वाङले सम्बोधन गरिरहँदा संसद्मा रहेका दुवै दलका नेताहरु भीमबहादुर रावल, रामबहादुर थापा, पूर्वसभामुख ओनसरी घर्तीलगायत उपस्थित थिए । अन्य कार्यक्रममा व्यस्त भएकाले एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने उपस्थित भएनन् । 

subash chandra nembang

विशेष