राजनीति

प्रचण्डले जबजको प्रशंसा गर्दा आक्रोशः प्रशंसा गर्दा आफ्नै धोती फुस्केको पत्तो भएन ?

प्रचण्डले भनेः जबजले हामीलाई बचायो

प्रचण्डले जबजको प्रशंसा गर्दा आक्रोशः प्रशंसा गर्दा आफ्नै धोती फुस्केको पत्तो भएन ?

काठमाडौं । वाम एकता प्रक्रियामा ‘माओवाद’ र ‘जबज’को बहस पातलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जबजको प्रशंसा गरेका छन् ।

 

प्रचण्डले संसद बैठकलाई सम्बोधन गर्दै जनताको बहुदलीय जनवादले नै जनयुद्धको रक्षा गरेको बताएका छन् ।

 

एमालेको जबज नभएको भए १० वर्षको जनयुद्ध नटिक्ने भन्दै खुलेर प्रशंसा गरे । सैद्धान्तिक मिलापको आशय साथ उनले त्यसो भनिरहँदा संसद बैठक भने तालीले गुन्जियो ।

 

साथै प्रचण्डले संसदमै यस्तो अभिव्यक्ति दिँदा एमाले सांसदहरुको अनुहारमा हँसिलो देखिन्थ्यो भने माओवादीका सांसदहरु खिन्न थिए ।

 

त्यसो त, एमालेकै केही प्रभावशाली नेताहरुले जबजको औचित्य समाप्त भएको बताउँदैआएका छन् । एकीकृत वाम पार्टीबाट माओवाद हटाउन नहुने माओवादीका थुप्रै नेताहरुको अडान छ ।

 

प्रचण्डको यस्तो विरोधाभाष अभिव्यक्तिबारे संसदमा कुरा नउठे पनि पेरिसडाँडामा भने माओवादी नेताहरुले आलोचना गर्न थालेका छन् । ‘प्रचण्डले कहिले के बोल्ने कहिले के बोल्ने भर नै छैन,’ माओवादीका एक नेताले भने, ‘बोलीको भर नै छैन उहाँको ।’ माओवादीका धेरै नेताहरुलाई प्रचण्डको पछिल्लो अभिव्यक्तिले दुखी बनाएको ती नेताले बताए ।

 

ती नेताका अनुसार प्रचण्डले एमालेको प्रशंसा गर्ने आशयसाथ त्यस्तो भाषण गरेका हुन् । तर उनले थपे, ‘प्रशंसा पनि कतिसम्म गर्ने हुन्छ नी ! प्रशंसा गर्दा गर्दै आफ्नै धोती फुस्किएको पत्तो नहुने !’

 

विशेष