राजनीति

'नक्कली' ज्येष्ठ सदस्य महेन्द्रराय यादवकाे अनुपस्थितिमा महन्थ ठाकुरले शपथ गराउने

प्रतिनिधिसभा सदस्य शपथ कार्यक्रम

'नक्कली' ज्येष्ठ सदस्य महेन्द्रराय यादवकाे अनुपस्थितिमा महन्थ ठाकुरले शपथ गराउने

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।  

 

नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आइतबारको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो ।

 

नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि उनीपछिका ज्येष्ठ सदस्य ७५ वर्षीय ठाकुरले शपथ गराउने निश्चित भएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए।

 

अध्यक्ष ठाकुरलाई आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् ।

 

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानुनी प्रावधान छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन गत मंसिर १० र २१ गते र ५६ सदस्यीय राष्ट्रियसभाको माघ २४ गते भएको थियो ।

 

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गरेकी छिन् । त्यसअघि आइतबार दुवै सदनका सदस्यको शपथ हुन लागेको हो ।

विशेष