श्रीमती छाडेर विदेश जानुहुँदैन भन्दा साथीले नै गरे साथीको हत्या
काठमाडौं । शुक्रबार राति काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा भएको हत्या श्रीमतीको विवादका कारण भएको खुलेको छ । सुरक्षा गार्डमा कार्यरत २६ वर्षीय रविन खवास भुजेललाई उनका साथी रुद्र बस्नेतले हत्या गरेको खुलेको प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदिप चन्दले बताए ।
मृतक रविन र रुद्र २ वर्षदेखि सिटी सेन्टरको बिग मुभिजमा ग्रुप फोर कम्पनीमार्फत् सेक्युरीटी गार्डको रुपमा काम गर्दै आएका थिए । शुक्रबार दुवैजना सँगै ड्युटिमा रहेको र दुवैले मदिरा सेवन गरेको बताइएको छ ।
अनुसन्धानमा संग्लन एक प्रहरी अधिकृतले भने, “मदिरा सेवनपछि दुईबीच विदेश जाने कुरा चल्यो, तर श्रीमतीलाई छाडेर विदेश जान नहुने कुरामा भनाभन भयो । त्यही कुराले हत्यासम्मको रुप लियो ।”
रुद्रले रविनको मुख र नाकमा थिची हत्या गरी चार तलामाथि बाट खसालेको प्रहरी अनुसन्धानले देखाएको छ ।