राजनीति

विद्यालाई कायम राख्ने ओली योजनाः प्रचण्ड झैँ भाग्नु नपरोस्

लोकेन्द्र भट्ट

विद्यालाई कायम राख्ने ओली योजनाः प्रचण्ड झैँ भाग्नु नपरोस्

काठमाडाैं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफ्नै ‘लाईन’को भनी चिनिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदमा दोहोर्याउने अडान लिएपछि अन्ततः विद्या दुईपटक सम्म राष्ट्रपति बन्दैछिन् ।

 

यससँगै एकीकृत वाम पार्टीका अरु नेताले चाहेर पनि राष्ट्रपति बन्ने अवसर पाएनन् । झलनाथ खनाल, माधव नेपाल, माओवादीका केही नेताहरु समेत राष्ट्रपति दावेदार भए पनि पछि हट्न बाध्य भए ।

 

वाम एकताका सूत्रधार भनेर चिनिएका वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताको इच्छा विपरित विद्या दोहोरिने भएकी हुन् । गौतम र श्रेष्ठ माधव नेपाललाई राष्ट्रपति बनाउन चाहन्थे । अन्ततः ओलीले आफ्नो अडान नछोडेपछि उनीहरुको पनि केही लागेन ।

 

झलनाथ बारे गौतम र नेपाल फरक कित्तामा

वाम गठबन्धनका सूत्राधार मानिएका एमाले उपाध्यक्ष वामदेव गौतम झलनाथ खनाललाई राष्ट्रपति बनाउन प्रयासरत थिए ।

 

माओवादीका केही नेताले समेत उनलाई समर्थन नै गरे । सार्वजनिक रुपमै नारायणकाजी श्रेष्ठले राष्ट्रपतिमा नयाँ व्यक्ति ल्याउनु पर्ने बताउँदैआएका थिए । तर अन्त्यमा वामदेव गौतम आफ्नो अडान छोड्न बाध्य भए ।

 

विद्यालाई दोहोर्याउन ओली बाध्य

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भण्डारीलाई दोहोर्याउन करिब सहमति भइसकेको बताइएको छ । एमाले नेता विष्णु पौडेलले समेत संचारमाध्यममा भण्डारीलाई दोहोर्याउनेमा लगभग सहमती भइसकेको बताएका थिए ।

 

भण्डारीलाई नदोहोर्याउनेमा धेरै नेता सहमत देखिए पनि ओलीको अडानका बीच कसैको केही लागेन । अर्कोतर्फ मोटिङको अवस्था पनि नहुँदा धेरै नेताहरुले राष्ट्रपतिको विषयलाई किचलो गर्न नचाहेको देखिन्छ ।

 

यसरी २०७२ कात्तिक ११ गते राष्ट्रपतिको पदभार ग्रहण गरेकी भण्डारी २८ महिनापछि दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्दैछिन् ।

 

निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । जसका लागि २१ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यही कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले मनोनयन दर्ताको एक दिन अघि नै राष्ट्रपतिको उम्मेदवार तय गर्ने भएको छ ।

 

कांग्रेस राष्ट्रपति निर्वाचनमा मौन

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि खुल्ला रुपमा तयारी गरेको देखिँदैन । राष्ट्रपतिमा वाम गठबन्धनबाट बन्ने उम्मेद्वार स्वतः जित्ने देखेपछि उसले औपचारिक रुपमा नेतृत्वले छलफल र सुझाव नमागेको कांग्रेसका एक नेताले बताए ।

 

प्रदेश सकारमा कुनै पनि पदमा उम्मेद्वारी नदिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा दिने वा नदिने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पार्टी संसदीय दलको नेताका लागि हानथाप गर्दै आएका नेताहरु राष्ट्रपति निर्वाचनको विषयमा भने मौन छन् ।

 

दोहोर्याउनु गलत

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार उनी भण्डारीलाई राष्ट्रपति पदमा दोहोर्याउन पहिलेदेखि नै चाहन्थे । भोलिका दिनमा काम गर्न सहज होस् भनेर पनि उनले आफू अनुकुल भण्डारीलाई कायम राख्न चाहेको बुझिएको छ ।

 

अघिल्लो कार्यकालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई रामवरण यादवले साथ नदिएपछि प्रधानमन्त्री पद नै छोड्नुपर्ने अवस्था आएको थियो । त्यस्तै अवस्था नदोहोरियोस् भनेरै ओलीले भण्डारीलाई नै राष्ट्रपतिमा कायम राख्न खोजे । ‘प्रचण्डको जस्तै अवस्था नआओस् भनेरै उहाँले आफू अनुकुल राष्ट्रपति खोज्नुभएको हो,’ माओवादीका एक नेताले भने, ‘प्रचण्ड झैँ भाग्नु नपरोस् भनेरै उहाँ अहिलेदेखि डराउनुभएको हो ।’

 

स्रोतका अनुसार प्रचण्डको जस्तै अवस्था नआओस् भनेरै ओलीले राष्ट्रपति पदमा आफूले चाहेको व्यक्ति राख्न सुरुदेखि नै अडान लिएका हुन् ।

 

ओलीको यस्तो व्यक्तिवादी सोचबाट भने एमालेकै दोस्रो तहका नेता तथा कार्यकताहरु असन्तुष्ट छन् । भलै धेरैले खुलेर भन्न सकेका छैनन् । सानै स्वरमा भए पनि विद्यार्थी नेता र माधव नेपाल समुहका नेता–कार्यकर्ता भण्डारीलाई दोहोर्याउनु गलत भन्दैआएका छन् ।

 

राज्यको उच्च तहमा आशिन व्यक्तिलाई दोहोर्याउनु गलत भएको एमालेकै विद्यार्थी नेताहरुको बुझाइ छ । तर उनीहरुको गुनासो पार्टी नेतृत्व पंक्तिले सुनेकै छैन ।

 

माओवादीका नेताहरुले पनि यस्तो अवस्थामा राष्ट्रपति फेर्न ओलीलाई दबाब दिन सक्नुपथ्र्यो । अवस्य पनि भण्डारी एक व्यक्तिको लागि राज्यको सर्वोच्च निकायको गरिमा कमजोर बनाइनु हुँदैन । प्रधानमन्त्री ओलीकै कारण राष्ट्रपति, उपराष्ट्रपति जस्तो पदको गरिमामा आँच आउनुका साथै गलत नजिर स्थापित भएको छ । ओलीको व्यक्तिवादी चिन्तनले उनी स्वयंलाई जनप्रतिनिधिबाट शासकमा बदल्ने खतरा छ ।

 

विशेष