रेशम चौधरीलाई सपथ नगराए संसद बैठक चल्न नदिने चेतावनी
धनगढी । राष्ट्रिय जनता पार्टीले रेशमलाल चौधरीलाई सपथ ग्रहणको व्यवस्था नगराए प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिएको छ । आइतबार बसेको प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै राजपाका प्रदेश सभा सदस्य कृष्ण चौधरीले रेशमलाई सपथ ग्रहणको व्यवस्था नगरिए आगामी प्रदेश सभाको बैठक चल्न नदिने चेतावनी दिएका हुन्।
कैलाली १ बाट अत्यधिक मतसहित चुनाव जितेर पनि प्रमाणपत्र नदिनु र सपथ ग्रहणको व्यवस्था नगरिनु भनेको थारुहरुमाथिको राजनीतिक र जातीय अन्याय भएको उनले आरोप लगाए । उनले रेशमलाई प्रमाणपत्र नदिनु र सपथ ग्रहणको व्यवस्था नमिलाउनु उनले पाएको ३४ हजार भन्दा बढी मतको अपमान भएको समेत बताए ।
‘हामी सबै जात र समुदायको समान प्रतिनिधित्वको पक्षमा छौँ, तर राज्यले थारुहरुमाथि विभेद गरेको महसुस हुँदैछ, सभामुख महोदय, यदि रेशमलाल चौधरीलाई चुनाव जितेको प्रमाणपत्र दिएर उनको सपथ ग्रहणको व्यवस्था मिलाउन गम्भीरतापुर्वक ध्यान दिइएन भने हामी आगामी संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिन चाहन्छौँ,’ प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोलेका चौधरीले भने।
चौधरी ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको घट्नाका आरोपित हुन । टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोपित चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरिसकेकाे छ ।